काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ हुँदा खुसी हुने जमातले आफ्नो विरोध गर्ने गरेको गुनासो गरेका छन् ।
प्राधिकरणको वार्षिकोत्सवको सन्दर्भमा बिहीबार काठमाडौंमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा घिसिङले प्राधिकरण घाटामा जाँदा र लोडसेडिङ हुँदा खुसी हुने जमात ठूलो रहेको र उनीहरूले विरोध गर्ने गरेको गुनासो गरेका हुन् ।
केही जिम्मेवार पदाधिकारी लगायतले जिम्मेवार ठाउँमा पुगेर प्राधिकरणको हिसाब किताबप्रति आशङ्का व्यक्त गर्ने गरेको भन्दै घिसिङले महालेखा परीक्षकको ३ वटा संस्थाले अडिट गरेको हिसाब कसरी फेक हुन्छ ? भन्दै प्रश्न समेत गरेका थिए ।
उनले प्राधिकरण सरकारको ठूलो संस्था भएकाले जिम्मेवारी पूर्वक नै काम गरिरहेको धारणा व्यक्त गरेका थिए । त्यस्तै उनले आठ बर्ष अघि ३५ अर्ब सञ्चित घाटामा रहेको प्राधिकरण ४७ अर्ब नाफामा पुग्नु ठूलो सुखद विषय भएको बताए ।
नेपालको विद्युत क्षेत्रमा ठूलो क्रान्ति भएको र अहिले सबै क्षेत्रमा विद्युतीय गाडीहरू सञ्चालन हुन थालेको उनको भनाई रहेको छ । घिसिङले वितरण प्रसारण र उत्पादनमा मात्रै प्राधिकरणले रु १ खर्ब लगानी गरेको जानकारी पनि दिए ।
घिसिङले आफ्नो दोश्रो कार्यकालको अन्तिम वार्षिकोत्सव मनाउने वर्ष भएको र अर्को वर्ष साउन २५ गते आफ्नो चार वर्षे कार्य अवधि समाप्त भएपछि प्राधिकरणबाट बिदा लिने समेत बताएका छन् ।












