डोटी । डोटी जिल्लाको दिपायल-सिलगढी नगरपालिका-४ समूहगाडमा शुक्रबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना यात्रु र एक स्थानीय गरि १७ जना घाइते भएका छन् ।
धनगढीबाट दिपायल जाँदै गरेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस आज बिहान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिए । दुर्घटनामा परि घाइते भएकाहरूको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको पनि उनले बताए । बस सडकबाट करिब ३५ मिटर तल खसेको थियो ।
बसमा सवार १६ जना दुर्घटनामा परि घाइते भएका छन् । यस्तै एक जना स्थानीय भने बस दुर्घटना हुँदा सोही ठाउँमा रहेकाले उनी पनि घाइते भएका प्रहरीले जानकारी दिएको छ ।
घाईते भएका मध्ये ७ जनाको अवस्था सामान्य रहेको छ भने बाँकी ९ जनाको अवस्था अलि जटिल रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
दुर्घटनामा परि घाइते हुनेहरुमा डडेल्धुराको गन्यापधुरा गाउँपालिका-२ रिठा बस्ने २३ वर्षीय सविता देउवा, डोटीको दिपायल-सिलगढी नगरपालिका-६ थाप्लाका २९ वर्षीय भोजराज धामी डोटीकै सायल गाउँपालिका-७ गौरीगाउँका ८२ वर्षीय तेजबहादुर सिंह, आदर्श गाउँपालिका-४ का ३० वर्षीय कृष्ण विष्ट, ३८ वर्षीय सन्तोष बोहरा, शिखर नगरपालिका-१० वान्डुङग्रीसैनका ३५ वर्षीय भरत रावत । उनी चालक हुन् ।
त्यस्तै डोटीको दिपायल–सिलगढी-१ तिखाका ४० वर्षीय डम्मरीदेवी खड्का, दिपायल-सिलगढी-४ राजपुरका ३८ वर्षीय दिलबहादुर नेपाली, सायल-४ डौडका ६५ वर्षीय हर्कबहादुर सिंह, केआइसिंह गाउँपालिका-२ डुम्राकोटका ४२ वर्षीय कमलविक्रम शाही (बस साहु), दिपायल-सिलगढी–६ का २९ वर्षीय भेषराज धामी, आदर्श-१ का २३ वर्षीय प्रकाश खड्का रहेका छन् ।
यसै गरि डोटीको पूर्वीचौकी गाउँपालिका-७ टिमुर दहका २१ वर्षीय हिक्मत बिक, बोगटान-फुड्सिल गाउँपालिका-६ पलाडीका ३५ वर्षीय देवबहादुर बोगटी, सायल-४ का ५६ वर्षीय लालबिरे भुल, सायल-२ का ४० वर्षीय दलबहादुर बयाडी घाइते भएका हुन् ।
बस दुर्घटना हुँदा दिपायल-सिलगढी-४ लक्ष्मण बोगटीको पक्की घरको छतको दक्षिण पट्टीको कुना र एक तले कच्ची टिनले छाएको भान्सा र अर्जुन ठोकरको टिनले छाएको भान्सामा समेत क्षति पुगेको प्रहरीको भनाई छ ।













