जनकपुर । चौतर्फी दबाब थेग्न नसकेपछि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् । मधेशमा १२ जना मन्त्री र ८ जना राज्यमन्त्री गरेर २० जना मन्त्री बनाएपछि चौतर्फी आलोचना भइरहेको थियो ।
चौतर्फी आलोचना र आफ्नै पार्टी जनमतले पनि स्पष्टीकरण सोधेपछि मुख्यमन्त्री सिंहले मङ्गलबार ८ जना राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन् । मधेशमा नेकपा (एमाले) का तीन, नेपाली कांग्रेस र जनमतका दुई/दुई जना र लोसपाका एक राज्यमन्त्री थिए ।
८ जना राज्यमन्त्री बर्खास्तीमा परेपछि अब भने मधेश प्रदेश सरकारमा कांग्रेसका चार, एमालेका चार, जनमतका मुख्यमन्त्रीसहित तीन र लोसपाका एक जना गरी १२ जना मन्त्री कायम रहेका छन् ।
प्रदेश सरकारप्रति यसै पनि आमरूपमा गलत धारणा फैलिइरहेको बेला मधेशले ८ जना राज्यमन्त्री नियुक्त गरेको भन्दै सत्तारूढ नेपाली कांग्रेसका नेताहरू शेखर कोइराला, नैनसिंह महरलगायतले केन्द्रीय समिति बैठकमै आलोचना गरेका थिए भने जनमत पार्टीले पनि मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधेको थियो ।
सामाजिक सञ्जालमा त झनै थेगी नसक्नुको आलोचना भैरहेको थियो ।













