दुई साताको प्रशिक्षणका लागि २२ सदस्यीय नेपाली क्रिकेट टोली भारत प्रस्थान

तस्बिर : क्यान

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटको छनोट लिग-२ अन्तर्गत सेप्टेम्बरमा हुने त्रिकोणात्मक सिरिजको अन्तिम तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार भारत प्रस्थान गरेको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार टोली आज भारत प्रस्थान गरेको टोलीले  बैङ्गलोरको राष्ट्रिय क्रिकेट एकेडेमी (एनसिए) मा दुई साता प्रशिक्षण गर्ने भएको छ ।

नेपालले अब यसपछि सेप्टेम्बरमा क्यानडामा ओमान र घरेलु टोलीबीच त्रिकोणात्मक सिरिज खेल्ने छ । नेपालको लिग-२ मा यो दोस्रो सिरिज हुने छ ।
यसअघि नेपालले एसीसी मेन्स प्रिमियर कपको तयारी गुजरातको वापीमा गरेको थियो । त्यति बेला गुजरात क्रिकेट एसोसिएसन र बरोडा क्रिकेट एसोसिएसनसँग नेपालले एसएमएस फ्रेन्डसिप कप टी २० प्रतियोगिता पनि खेलेको थियो ।

नेपालले दोस्रो राउन्डको त्रिकोणात्मक सिरिज खेल्न लागेको हो । पहिलो राउन्डमा नेपालले नामिबिया र नेदरल्याण्ड्ससँग खेलेको थियो । यसमा प्रत्येक टोलीसँग समान २ खेल्ने प्रावधान रहेको छ ।

नेपालले पहिलो राउन्डमा १ खेल मात्र जितेको थियो । स्वदेशमा भएको पहिलो राउन्डमा नेपालले नेदरल्याण्ड्सलाई १ खेलमा पराजित गरेको थियो । गत साता क्यानले २२ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो ।

टोलीका कप्तान रोहितकुमार पौडेल, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने क्यानडामा सोमबार सम्पन्न ग्लोबल टी २० लिग खेल्ने क्रममा त्यहाँ रहेका छन् ।

बन्द प्रशिक्षणका लागि बोलाइएका खेलाडी

रोहित कुमार पौडेल(कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलसन झा, कमलसिंह ऐरी, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, सुर्य तामाङ, बसिर अहमद, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा