काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राजनीतिक स्थायित्वका लागि ‘प्रत्यक्ष कार्यकारी राष्ट्रपतिय’ प्रणालीको प्रस्ताव अघि सारेको छ । कांग्रेस र एमालेले स्थायित्व नै खोजेको भए राष्ट्रपतिय प्रणालीमा सहमति जनाउन माओवादीले आग्रह समेत गरेको छ ।
पार्टी स्थायी समितिको शनिबारको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेन्डा पुनः उठाउने भन्दै यसका लागि कांग्रेस र एमाले पनि तयार हुनुपर्ने बताएका थिए । सरकार गठन गर्दा कांग्रेस र एमालेले संविधान संशोधन गर्ने सहमति गरेका थिए । माओवादीले संविधान संशोधन गर्दा शासन प्रणाली पनि फेर्नु पर्ने प्रस्ताव अघि सारेको हो ।
संविधान निर्माणका क्रममा माओवादीले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिय शासन व्यवस्थाको प्रस्ताव अघि सारेको थियो । तर, कांग्रेस र एमाले तयार नभएपछि ‘सुधारिएको संसदीय प्रणाली’ मा सहमति जुटेको थियो । माओवादीको फरक मतसहित ०७२ मा संविधान जारी गरिएको थियो ।
‘प्रत्यक्ष कार्यकारी राष्ट्रपतिय’ शासन प्रणालीको एजेन्डा लिएर माओवादीले सदन, सडक र जनतामा जाने विषयमा बैठकमा छलफल भएको थियो । संसदीय व्यवस्थाले देशमा राजनीतिक अस्थिरता पैदा गरेको माओवादीले ठहर गर्दै ९ वर्षअघि थाती राखेको यो एजेन्डालाई फेरि उठाउन लागेको हो । सत्ताबाट बाहिरिएपछि माओवादीलाई फेरि शक्तिशाली बनाउने उद्घोष गर्दै पार्टी बैठकमा प्रचण्डले हाल नेताहरूको धारणा सुनिरहेका छन् ।
पार्टी प्रवक्ता अग्नि सापकोटाका अनुसार अध्यक्ष प्रचण्डले शुक्रबार र शनिबार स्थायी समिति बैठकको सुरुवातमै विशेष समय लिएर लामो बहस गर्दै पार्टीको वैचारिक, राजनीतिक, सांगठनिक परिस्थिति र कार्यभारका बारेमा धारणा राखेका थिए ।












