कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका-१८, फूलबारीका ३१ वर्षीय हर्क बहादुर गिरीलाई शुक्रबार प्रहरीले गरगहना चोरी आरोप पक्राउ गर्यो । साउन २३ गते धनगढी-४ बसपार्कका योगेन्द्र ओझाको घरबाट १५ तोला सुन, ६० तोला चाँदी र २५ हजार नगद चोरी गरेको आरोपमा गिरीलाई जिल्ला प्रहरी कार्यलय कैलालीले गरेको थियो ।
चोरीको आरोपमा पक्राउ परेका गिरीको साथबाट चाँदीको करुवा, दिया, कचौरा, बाला, सिक्री, पायल लगायतका अन्य विभिन्न किसिमका गरगहना, सिक्का, घडी र नगद ६ हजार १ सय ३५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको थियो ।
पुनः शनिबार प्रहरीले पक्राउ परेका गिरीले धनगढी-१ की गीता भण्डारीको खाजा पसल भित्र र भण्डारीकै भाडामा लिएको जमिनमा रहेको केराघारीमा खाल्डो बनाई लुकाई राखेको अवस्थामा गहना फेला पारेको जनाएको छ । प्रहरीले गेडी, मङ्गलसुत्र, बलमाला, फेन्सीमाला, पत्थरवाला माला, बाला, ठुलो टप २ जोर लगायतका सामान फेला पारेको हो ।
यस्तै विभिन्न प्रकारका सानो टप १३ पिस, अंगुठी, सिक्री, हिरा जस्तो देखिने सिक्री र नगद ३ सय ४६ रुपैयाँ फेला पारि बरामद गरेको प्रहरीले जानकारी दिएको छ । गरगहना बरामद गरी पक्राउ परेका गिरीलाई चोरी मुद्दामा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सह-प्रवक्ता तथा प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीले जानकारी दिए ।
पक्राउ परेका गिरी यही साउन १७ गते मात्रै चोरी मुद्दामा पाँच वर्ष कैद भुक्तान गरि रिहा भएका थिए ।












