घोडाघोडीमा मनाइयो गुरही अस्रैना कार्यक्रम

कैलाली । कैलालीको घोडाघोडीमा थारू समुदायको पर्व गुरही अस्रैना कार्यक्रम सम्पन्न भएकाे छ ।“भाषा कला, धर्म संस्कृति हमार पहिचान । संरक्षण ओ सम्वर्धन कैना हमार अभियान ।” भन्ने नाराका साथ जिल्लाको घोडाघोडी नगरपालिका-१, सुखड चोकमा कार्यक्रम सम्पन्न गरिएको छ । विगतका वर्षमा झै यो वर्ष पनि गुरही अस्रैना कार्यक्रम गरिएको हो ।

गाउँघरबाट रोगव्याधी हट्ने र शान्ति तथा सद्भाव बढ्ने मान्यताका साथ परम्परागत संस्कार, चालचलनअनुसार नागपञ्चमीकै दिन साँझपख भव्यताका साथ पर्व मनाउने प्रचलन थारु समुदायमा रहेको छ । पर्वमा भाइ बहिनीको उपस्थिति विना अपूरो हुने हुँदा यस पर्वले दाजुभाइबीचको माया प्रेम थप प्रगाढ बनाउँदै आएको थारू नगर उपप्रमुख गुलिया कुमारी चौधरीको भनाई थियो ।

कार्यक्रममा नगरभित्रका विभिन्न ठाउँबाट चौधरी समुदायका मान्छेको उपस्थिति रहेको थियो । कार्यक्रमको सभापतित्व नगर भल्मन्सा बुधराम चौधरीले गरेका थिए भने प्रमुख अतिथिमा नगर प्रमुख खडक बहादुर रावत रहेका थिए । साथै १२ ओटै वडाका अध्यक्ष सम्पूर्ण गाउँ टोलका भलमन्सा लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

गुरही के हाे ?

गुरही भनेको एक किसिमको गाइने कीरा हो । यो पर्वमा कसैले गुरही-गुरहा, कसैले केटी-केटा वा दुलहा-दुलहीको प्रतीकको रूपमा कपडाको पुतला, खेलौना बनाउँछन् । हिन्दी भाषामा यस्ता पुतला, खेलौनालाई गुडिया भन्ने गरिन्छ ।

कसैले ती पुतलालाई गुरही (गाइने कीरा) मानी पिट्ने गर्दछन् भने कसैले बहिनीका अवगुण मानी पिट्ने गर्दछन् । पुतला पिट्ने सोंटा, कोर्रा रारा र मूँज (ढकिया बनाउँदा प्रयोग गरिने सामग्री)को प्रयोगले सुन्दर, रङ्गीचङ्गी बनाइएको हुन्छ ।

वयस्क तथा पुरुषले सोंटासँग खासै सरोकार राख्दैनन् । उनीहरू गुरही(गुरिया) पिट्दा सामान्य केराका हरियो डाँठले पनि पिट्ने गर्दछन् ।