चोरी मुद्दामा पाँच वर्ष जेल बसेर घर फर्किएको १० दिन नपुग्दै चोरी आरोपमै धनगढीबाट एक जना पक्राउ

धनगढी । धनगढीबाट गहना चोरी आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शुक्रबार कैलालीको धनगढी उपमहानगरपालिका-१८, फूलबारीका ३१ वर्षीय हर्क बहादुर गिरीलाई गरगहना चोरी आरोपमा कैलाली जिल्ला प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरेका गिरी यही साउन १७ गते मात्रै चोरी मुद्दामा पाँच वर्ष कैद भुक्तान गरि रिहा भएका थिए ।

यही साउन २३ गते धनगढी वडा नं. ४ बसपार्कका योगेन्द्र ओझाको घरबाट १५ तोला सुन, ६० तोला चाँदी र २५ हजार नगद चोरी गरेको आरोपमा गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरीकार्यलय कैलालीले जनाएको छ । पक्राउ परेका गिरीको साथबाट चोरी गरी राखेका चाँदीको करुवा, दिया, कचौरा, बाला, सिक्री, पायल लगायतका अन्य विभिन्न किसिमका गरगहना, सिक्का, घडी र नगद ६ हजार १३५ रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

Share