थारू समुदायले मनाउने गुरही

तस्बिर : गोरखा पत्र

कैलाली । विशेष गरेर पश्चिम नेपालका थारू समुदायले आज शुक्रबार गुरही पर्व मनाउँदै छन् । हरेक वर्ष नाग पञ्चमीको दिन थारू समुदायले गुहरी पर्व मनाउने गर्दछन् । विशेषगरी पश्चिम नेपालको कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, सुर्खेत जिल्लाका थारू बस्तीमा औपचारिक कार्यक्रमको आयोजना गरी थारू समुदायले यो पर्व धुमधामका साथ मनाउँदै आएका छन् ।

गुरही भनेको एक किसिमको गाइने कीरा हो । यो पर्वमा कसैले गुरही-गुरहा, कसैले केटी-केटा वा दुलहा-दुलहीको प्रतीकको रूपमा कपडाको पुतला, खेलौना बनाउँछन् । हिन्दी भाषामा यस्ता पुतला, खेलौनालाई गुडिया भन्ने गरिन्छ । त्यही गुडिया शब्द अपभ्रम्स भइ थारू भाषाको गुरिया भएकाे मानिन्छ ।

थारू भाषामा गुरिया भन्नाले मोतीमालालाई जनाउने गर्दछ । तर यो पर्वमा कपडाको पुतला, खेलौना प्रयोगको कारणले गुडियाबाट नै गुरिया हुन पुगेको मानिन्छ । थारू बसोबास रहेका कतिपय स्थानमा यसलाई गुरही पर्व भन्ने गरिन्छ भने कतिपय ठाउँमा गुरिया पर्व भन्ने गरिन्छ ।

नागपञ्चमीको दिनमा मनाइने यस पर्वमा थारू समुदायका घरहरूमा खुर्मा, बरिया(पुरीजस्ता) जस्ता परिकार तेलमा पकाउने गरिन्छ । घर-घरमा घुघरी, केराउ, मटरा, मकैको भुजा तयार गरिन्छ ।  महिलाहरूले कपडाका रङ्गीचङ्गी टुक्रा ‘चिरकुट’ बाट पुतला बनाउने गर्दछन् ।

कसैले ती पुतलालाई गुरही (गाइने कीरा) मानी पिट्ने गर्दछन् भने कसैले बहिनीका अवगुण मानी पिट्ने गर्दछन् । पुतला पिट्ने सोंटा, कोर्रा रारा र मूँज ढकिया बनाउँदा प्रयोग गरिने सामग्रीको प्रयोगले सुन्दर, रङ्गीचङ्गी बनाइएको हुन्छ ।

पुरुषले सोंटासँग खासै सरोकार राख्दैनन् । उनीहरू गुरही (गुरिया) पिट्दा सामान्य केराका हरियो डाँठले पनि पिट्ने गर्दछन् । सूर्यास्त हुने बेलातिर युवती तथा महिलाहरू गुडिया (गुरिया)घुघरी लिई आफ्नो भेषभुषामा सजिएर चौबाटो र चौराहामा पुग्छन् ।

थारू समुदायका किशाेरीहरू गुरिया फाल्ने बेला र किशाेरहरू गुरही पिट्ने बेलामा रोगब्याधी नलागोस्, आफूमा भएको अवगुण जाओस् भनी कामना गर्दछन् । पिटिसकेपछि केटा वा पुरुषले  महिलासँग घुघरी माग्छन् र प्रसादस्वरुप ग्रहण गर्दछन् ।

कतिपय गाउँमा पिटिएका यी गुरिया (गुरही) सडक चौराहामै छोडेर हिँड्ने गर्दछन् भने कतिपय गाउँमा बाजागाजाका साथ नदीमा सेलाउन पनि लाने गरिन्छ ।

यो पर्व बालबालिकाको सहभागिता बिना अपूर्ण मानिन्छ । त्यसैले यसमा उनीहरूलाई सहभागी गराउनु अभिभावकहरू आफ्नो कर्तव्य ठान्छन् । कतिपय अभिभावक उनीहरूलाई बोकेरै सहभागी पनि गराउने गर्दछन् ।

Share