पाँच महिनापछि दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न अनुमति

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा अवस्थित दशरथ रङ्गशालामा पाँच महिनापछि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न एसियाली फुटबल महासङ्घ (एएफसी) ले अनुमति दिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई एएफसीको आधिकारिक जवाफ माग गरेसँगै एन्फाको जवाफअनुसार दशरथ रङ्गशालालाई एएफसीबाट योग्य रहेको रिपोर्ट प्राप्त भएको राखेपले जानकारी दिएको छ ।

विभिन्न प्रश्न उठाउँदै एएफसीले गत वर्षको चैतदेखि दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय स्तरका फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य भनेको थियो । जसका कारण नेपाली टोलीले विश्वकप छनोट समेत घरेलु मैदानमा खेल्न पाएन ।

एएफसीले रङ्गशालालाई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अयोग्य भने पछि गएको चैतदेखि राखेपले आफैले खेल मैदानको रेखदेख र संरक्षण शुरु गरेको थियो ।

त्यसअघि त्यो जिम्मेवारी राखेपले एन्फालाई दिएको थियो । यस बीच एएफसीका प्रतिनिधिले यही साउन ९ गते दशरथ रङ्गशालाको निरीक्षण तथा अवलोकन गरि मापदण्ड पुरा भएको प्रतिवेदन दिएको एन्फाले जानकारी दिएको राखेपले बताएको छ ।

दशरथ रङ्गशालाको खेलमैदान अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि योग्य भएको प्रतिवेदन दिएसँगै यही साउन २९ गते एएफसी च्यालेन्ज लिग छनौटको प्लेअफ अन्तर्गत नेपालको लिग च्याम्पियन चर्चब्वाईज युनाइटेड र भुटानको लिग विजेता पारो एफसीबीच खेल हुने भएको छ ।

Share