काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रवार सार्वजनिक गरेकाे छ । नियमतितर्फ ६९.७५ विद्यार्थी ग्रेडेड भएका छन् । बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार ३ लाख ३२ हजार २४१ जना परीक्षामा सहभागी भएका थिए । जसमा २ लाख ३१ हजार ७७० जना ग्रेडेड भएका छन् भने १ लाख ४७१ जना ननग्रेड भएका छन् ।
जसमा ३.६१ देखि ४ जीपीए ल्याउनेको संख्या १७ हजार ७८६ जना ग्रेडेड भएका छन् । ३.२१ देखि ३.६० जीपीए ल्याउनेको संख्या ६४ हजार ८२१ जना ग्रेडेड भएका छन् । २.८१ देखि ३.२० सम्म ९४ हजार २४९ जना विद्यार्थी ग्रेडेड भएका छन् । त्यसैगरी २.४१ देखि २.८० सम्म जीपीए ल्याउनेको संख्या ५० हजार ५९७ जना छन् । २.०१ देखि २.४० जीपीए ल्याउनेको संख्या ४ हजार ३०८ र १.६१ देखि २ सम्म जीपीए ल्याउनेको संख्या ९ जना रहेको छ ।
आंशिकतर्फ ८५ हजार ९२९ जना विद्यार्थी सहभागी भएका थिए । जसमा ३६ हजार ४२० जना ग्रेडेड भएका छन् । यो आंशिकतर्फ मात्र ४२.३८ प्रतिशत ग्रेडेड भएका छन् । समग्रमा नियमति र आंशकि गरी ४ लाख १८ हजार १७० जना विद्यार्थीले परीक्षा दिएका थिए । नियमित र आंशिक जोड्दा भने ग्रेडेड प्रतिशत ६४.१३ प्रतिशत हुन्छ । नियमिततर्फ ३० र आंशिकतर्फ १० गरी ४० जनाको परीक्षा रद्द गरिएको छ ।
मौका (पूरक) परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डले गोरखापत्रमा सूचना प्रकाशित गरेर कक्षा १२ को पूरक परीक्षाको तालिका सार्वजनिक गरेको हो । परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षा दुई दिनमात्र सञ्चालन हुने जनाएको छ । जसअनुसार २ र ३ साउनमा पूरक परीक्षा हुने भएको छ । सार्वजनिक तालिकाअनुसार एक विषयको मात्र परीक्षामा सहभागी हुने परीक्षार्थीले जुन सुकै विषय भए पनि पहिलो दिन सहभागी हुनु पर्नेछ । अनिवार्य अंग्रेजी विषयको परीक्षामा सम्मिलत हुने परीक्षार्थीहरूका लागि पहिलो दिनमात्र परीक्षा हुने बोर्डले जनाएको छ । तर, अनिवार्य अंगे्रजी र अनिवार्य नेपाली विषयको परीक्षामा सम्मिलत हुने परीक्षार्थीहरूले नेपाली विषयको परीक्षा दोस्रो दिन दिनुपर्ने छ ।
बोर्डका अनुसार दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि दोस्रो दिन (३ साउन) परीक्षा हुने छ । परीक्षा बिहान ११ बजेदेखि सुरू हुने छ । परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको थियो ।
कक्षा १२ को मौका परीक्षामा सहभागी हुनका लागि १९ असारभित्र बोर्डको सम्बन्धित कार्यालयको खातामा परीक्षा शुल्क बापत प्रति विद्यार्थी आठ सयका दरले हुन आउने रकम बुझाइसक्नुपर्ने सूचनामा उल्लेख छ ।

‘उक्त अवधिभित्र रकम दाखिला गर्न छुट भएका परीक्षार्थीहरूका लागि २६ असारभित्र विलम्ब शुल्कसहितको रकम प्रति विद्यार्थी एक हजार छ सय बुझाई सम्बन्धित विद्यालयमार्फत २८ असार २८ कार्यालय समयभित्र रकम दाखिला गरेको भौचर वा अनलाइन भुक्तानी गरेको प्रमाणसहित बोर्डका सम्बन्धित कार्यालयहरूमा आवेदन फाराम बुझाइसक्नुपर्नेछ,’ सूचनामा भनिएको छ ।












