कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज पदबाट राजीनामा दिएका छन् । शुक्रबार प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले प्रदेश प्रमुख नजिर मियालाई राजीनामा बुझाएका हुन् ।
मुख्यमन्त्रीले प्रदेश सभामा आज विश्वासको मत लिने तयारी गरेको भए पनि सभाबाट विश्वासको मत नपाउने निश्चित भएपछि शुक्रबार पदमा नियुक्त भएको १ सय ५ दिनमा राजीनामा दिएका हुन् । गत वैशाख ६ गते नेकपा एमाले, नेकपा माओवादी केन्द्र र स्वतन्त्र प्रदेश सभा सदस्य डाक्टर ताराप्रसाद जोशीको समर्थनमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारी मुख्यमन्त्री बनेका थिए । नेकपा एमालेले असार २० गते समर्थन फिर्ता लिएपछि सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।
प्रदेश सभामा सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले उत्कृष्ट नीति तथा कार्यक्रम र बजेट ल्याएको भन्दै टिप्पणी गर्ने नेकपा एमालेले नै बजेट पारित गर्न सहयोग नगरेको दुखेसो गरे । उनले प्रदेशमा बजेट शून्यताको अवस्था आउनुमा प्रदेश सभाका सबै दल जिम्मेवार रहेको बताए ।
प्रदेश प्रमुखका कारण कही नभएको जात्रा देखिएको मुख्यमन्त्री सोडारीले टिप्पणी गरेका छन् । ‘सरकारले प्रदेश सभा अन्त्य गरेको पाँच दिनपछि मात्रै प्रदेश प्रमुखले स्वीकृत गर्नुभयो’, उनले भने, ‘सभा अन्त्य भएको पत्र सँगसँगै अर्को चिठी आयो विशेष अधिवेशनको, यो पटक संसारमै नभएको जात्रा देखियो ।’
प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले सत्ता पक्ष र प्रतिपक्ष जहाँ भए पनि जनताका एजेन्डा उठाउन प्रतिबद्ध रहेको बताए । उनले प्रदेश सरकारप्रति जनताको विश्वास बढाउन प्रयास गर्ने पनि बताए ।
मुख्यमन्त्रीको राजीनामासँगै नयाँ सरकार गठनका लागि एमाले कांग्रेसलाई बाटो खुलेको छ । गत असार १७ गते मध्ये राती केन्द्रमा एमाले कांग्रेस मिलेर नयाँ सरकार बनाउने निर्णय भएपश्चात असार २९ गते एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए । त्यस यता प्रदेश सरकार पनि परिवर्तन भइ रहेका छन् । अब सुदूरपश्चिममा पनि एमाले-कांग्रेस गठबन्धनको सरकार बन्ने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्ने तय भैसकेको भए पनि कांग्रेसबाट को मुख्यमन्त्री बन्ने भन्ने विषयमा भने टुङ्गो लागेको छैन् ।












