कक्षा १२ को मौका परीक्षा भदौ २५ र २६ गते सञ्चालन हुने 

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षा भदौ २५ गते मङ्गलबार र २६ गते बुधबार सञ्चालन गर्ने जनाएको छ ।

बोर्डले आज सार्वजनिक गरेको नतिजामा १ लाख ८७ हजार २१ विद्यार्थी नन ग्रेडिङ (एनजी) मा परेका छन् । एनजी नतिजा आएका मध्ये दुई विषयसम्म ननग्रेडिङ विद्यार्थीले मौका परीक्षा दिन पाउने व्यवस्था छ । दुई विषयसम्म नन ग्रेडिङ हुने विद्यार्थीको सङ्ख्या १ लाख २७ हजार ७ सय ७ जना रहेको बोर्ड बताएको छ ।

परीक्षा तालिका प्रकाशन गर्ने तयारी भइरहेको पनि बोर्डले बताएको छ । दुई भन्दा बढी विषयमा नन ग्रेडिङमा पर्ने विद्यार्थीले भने अर्को वर्ष मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने भएका छन् ।

दुई विषय सम्म अनुपस्थिति विद्यार्थी पनि मौका परीक्षामा सामेल हुन पाउने छन् । गत वैशाख १४ गतेबाट सुरु भएको १२ को परीक्षामा नियमिततर्फ कुल ३ लाख ९० हजार ८ सय ६८ परीक्षार्थीहरू सहभागी थिए । त्यस्तै ग्रेड वृद्धितर्फ १  लाख ६ सय ५० विद्यार्थी सहभागी थिए । ७७ वटै जिल्ला र जापानको १ समेत गरी १ हजार ५ सय २६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सामेल भएका बोर्डको अभिलेखमा उल्लेख छ । 

Share