तीन जना राज्यमन्त्रीलाई नियुक्त गर्दै मन्त्रिमण्डल विस्तार, मन्त्रिमण्डलमा दलित प्रतिनिधिको इन्ट्री 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज तीन जना राज्यमन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका छन् । ओलीले नेपाली कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टीबाट एक गरी तीन जना राज्यमन्त्री नियुक्तका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका हुन् ।

कांग्रेसका प्रतिनिधि सभा सांसदद्वय पूर्णबहादुर तामाङ र रूपा बिक राज्यमन्त्रीमा नियुक्त हुँदा नाउपाबाट प्रतिनिधि सभा सांसद अरुणकुमार चौधरीलाई राज्यमन्त्रीमा नियुक्त भएका हुन् । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गत शुक्रबार नै चौधरीको नाम प्रधानमन्त्री ओली समक्ष सिफारिस गरेकी थिइन् ।

तामाङ ऊर्जा राज्यमन्त्री बन्दा बिक वन तथा वातावरण र चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषद्मा तामाङ, बिक र चौधरीलाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

तामाङ रामेछाप, बिक पाल्पा र चौधरी कैलालीका हुन् ।

तामाङ २०७८ मा भएको कांग्रेसको १४ औं महाधिवेशनका बेला रामेछाप सभापति निर्वाचित भएका थिए । उनी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । २०७९ मङ्सिरमा भएको निर्वाचनमा उनी रामेछापबाट निर्वाचित भएका थिए ।

साथै बिक १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी थिइन् । उनी पनि सभापति देउवा निकट नै मानिन्छन् । उनी समानुपातिक तर्फबाट सांसद छिन् ।

नाउपाका चौधरी कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।

नियुक्त राज्यमन्त्रीहरूलाई प्रधानमन्त्रीले शपथ गराउने व्यवस्था छ ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सङ्घीय सरकारको मन्त्रिमण्डल अहिले २२ सदस्यीय छ । संविधानले  २५ सदस्यीय मन्त्रिमण्डल बनाउन सक्ने भनेको छ ।

राज्यमन्त्रीहरू मन्त्रिपरिषद् बैठकमा भने सहभागी हुन पाउँदैनन् ।

सङ्घीय सरकारमा कांग्रेसका १० जना, एमालेका प्रधानमन्त्रीसहित ९ जना, जनता समाजवादीका २ जना, लोसपाका एक जना मन्त्री छन् ।

यसअघि मन्त्रिपरिषद्मा दलित समुदायको प्रतिनिधित्व नभएको भन्दै चर्को आलोचना भएको थियो । सोही आधारमा आज राज्यमन्त्रीमा एक जना दलितलाई समेटिएको हो ।

Share