काठमाडाैं । आइतबार ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर जहाज सम्पर्क विहीन हुँदा जहाज खोज्न गएको फिस्टेल एअरको हेलिकप्टर प्रतिकुल मौसमका कारण फर्किएको जनाइएको छ । हेलिकप्टर जोमसोम नै फर्किएको नेपाल नागरिक उड्डयन प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।
काठमाण्डौ, पोखरा र जोमसोम विमानस्थलमा खोजी तथा उद्धारका लागि हेलिकप्टरहरू तयारी अवस्थामा राखिएको पनि प्राधिकरणले जनाएको छ ।

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज घोडेपानीमा अन्तिम पटक सम्पर्कमा आएको र सो पश्चात उक्त जहाज सम्पर्कविहीन भएको खोज तथा उद्धार समन्वय केन्द्र तथा नेपाल नागरिक उड्यन प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उक्त जहाजमा १९ जना यात्रु र तीन जना चालक दलका सदस्य रहेका छन् । तीमध्ये १६ नेपाली र ६ जना विदेशी नागरिक रहेका जनाएको छ ।













