काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा चौथो पटक विश्वासको मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका सांसदहरूको नाराबाजी र होहल्लाकै बीच आज भएको मतदानबाट प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डकाे पक्षमा १ सय ५७ मत पर्दा विपक्षीमा भने कुनै पनि मत परेन् । मत दिन्न भन्ने पक्षमा जम्मा एक मत मात्रै परेको छ । आजको मतदानमा १ सय ५८ जना सांसद रहेका थिए । प्रचण्डले डेढ वर्षको अवधिमा आज चौथो पटक विश्वासको मत प्राप्त गरेका हुन् ।
नेपाली कांग्रेसले नारा बाजी नै गरिरहेका कारण उ मतदानमा सहभागी भएन ।
प्रधानमन्त्री प्रचण्डलाई नेकपा माओवादी सहित एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीको समर्थन रहेको छ ।
सरकारमा सहभागी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन् ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले बेल घेराउ गरिरहेकै अवस्थामा सभामुखले विश्वासको मतको प्रक्रिया अगाडि बढाएका थिए ।
विश्वासको मत लिँदा पनि कांग्रेसले अवरोध गरिरहेपछि प्रधानमन्त्री प्रचण्डले कांग्रेसकाे यस्तो गतिविधि महँगो पर्ने चेतावनी दिँदै इतिहासको कलंकको रूपमा स्थापित हुने बताएका थिए ।













