जेठ ७ गते चौथो पटक विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री प्रचण्ड

तस्बिर : रासस

काठमाडौं । २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्प कमल दाहाल प्रचण्डले सदनमा चौथो पटक विश्वासको मत लिने तयारी गरेका छन् ।

सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने तयारी गरेका हुन् ।

कुनै पनि सत्ता साझेदार दल मध्ये एक दलले मात्रै समर्थन फिर्ता लिएमा त्यसको ३० दिनभित्र प्रतिनिधि सभामा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। सोही कारण यसबारे प्रधानमन्त्री प्रचण्डले सभामुख देवराज घिमिरेलाई जानकारी गराइसकेको संसद्का सहायक प्रवक्ता दशरथ धमलाले सञ्चार माध्यमलाई जानकारी दिए ।

प्रधानमन्त्रीले बिहीबार सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेसँग विश्वासको मत लिने विषयमा छलफल गरेका थिए।

०७९ पुस १० मा प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत लिन लागेको यो चौथो पटक हो। उनलाई विश्वासको मत हासिल गर्न १३८ सांसदको समर्थन आवश्यक पर्छ।