काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई सफाई दिएको छ । आज न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले उनलाई सफाई दिएको हो ।
न्यायाधीशद्वय भट्ट र उप्रेतीको इजलासमा मंगलबारलेखि सुनुवाई सुरु भएको थियो । तर दुई पक्षका वकिलहरुको बहस नसकिएपछि मंगलबार हेर्दाहेर्दैमा राखिएको थियो । र बुधबार सोही इजलासमा सुनुवाईलाई निरन्तरता दिँदै फैसला सुनाइएको हो ।
यसअघि जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर राज ढकालको इजलासले २०८० पुष १३ गते लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । न्यायाधीश ढकालको इजलासले राति एउटै कोठामा बसेको अवस्था देखिएको, सो समयमा गौशला २६ ले करणी भएको भनेको र गौशाला २६ को तथा प्रतिवादी लामिछानको घटना हुँदाको दिनको क्रियाकलापको घटनाक्रम समेतलाई विचार गर्दा प्रतिवादी तथा गौशाला २६ को बीचमा करणी भएको देखिएको भन्दै उनलाई दोषी ठहर गरेको थियो ।
त्यस्तै जिल्ला अदालतले गौशला २६ को उमेर वारदात हुँदा १८ वर्ष पुगिसकेको फैसला गरेको थियो । १८ वर्ष पुगिसकेकी गौशाला २६ को नाजुक आर्थिक अवस्थाको फइदा उठाई करणी भएको देखिँदा सहमतिको करणी भएको देखिँदा सहमतिको करणी भन्ने नदेखिएकाले प्रतिवादी लामिछानेलाई जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेको थियो ।
त्यसपछि २०८० पुष २५ गते जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको थियो भने उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश पनि भएको थियो ।
त्यसपछि २०८० फागुन १० गते सन्दीपले जिल्ला अदालतको फैसला विरुद्ध उच्च अदातल पाटनमा पुनरावेदन निवेदन दिएका थिए ।













