गणतन्त्र दिवस : इतिहास र अभ्यास

सुखड। देशभर आज विभिन्न कार्यक्रम गरि  गणतन्त्र दिवस मनाइदैछ । २ सय ४० वर्षीय निरंकुश एकात्मक शाहीतन्त्रको अन्त्य  गरि जनताले प्रत्यक्ष शासन स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिन्छ ।  वि.स. २०६५ साल जेठ १५ गते नेपालमा गणतन्त्र स्थापना गरिएको थियो । हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर नेपालमा  गणतन्त्र ल्याउन सम्भव भएको थियो

कसरी स्थापना भयो गणतन्त्र ? 

जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । 

वि.स. २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत राजनितिक दलको मार्गचित्र बमोजिम वि.स. २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए ।

गणतन्त्र स्थापनाका लागि यही आन्दोलन जगका रूपमा स्थापित भएको थियो । संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन। निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो।

राजा ज्ञानेन्द्रले आफू खुसी लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरे ।

वि.स. २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत ७ दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा ( माओवादी ) का बीच १२ बुँदे समझदारी भएको थियो । पूर्ण लोकतन्त्र स्थापनाका लागि दुवै शक्ति बीच समझदारी भयो ।
वि.स. २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट ३ ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति  एकढिका भएपछि आन्दोलनले गति लियो । वि.स. २०६२ फागुनदेखि सुरु भएको निर्णायक आन्दोलनले चैतमा देशभर फैलियाे । नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । १९ दिने जनआन्दोलनले ज्ञानेन्द्र राजनीतिक दलहरू र नेपाली जनताको सामु मार्गचित्रमा सहमत हुन बाध्य भएका थिए।

आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा तत्कालिन राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठकको आह्वान समेत गरेका थिए। यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ । यो दिन नै गणतन्त्रको जगका रूपमा स्थापित बन्यो ।

वि.स. २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन ग¥यो। बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो ।
यसैको जगमा वि.स. २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य ग¥यो ।

पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो । त्यसपछि वि.स. २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गरेको थियो । 

के हो  गणतन्त्र ? 

स्थानीय तहदेखि केन्द्रीय तहसम्मको देशको शासन प्रणाली जनताद्वारा निर्वाचित प्रतिनिधिबाट सञ्चालित हुने व्यवस्था नै गणतन्त्र हो । बोलिचालीको भाषामा भन्नुपर्दा जनतन्त्र नै गणतन्त्र हो । जनताले आफ्नो शासक आफैँ चयन गर्ने परिपाटी हो– गणतन्त्र । अझै भनौ जनताको शासन अथवा जनताको राज्य हो जहाँको शासनतन्त्रमा सैद्धान्तिक रुपले देशको सर्वोच्च पदमा आम जनताबाट कुनै पनि व्यक्ति पदासीन हुन्छ यसै शासनलाई गणतन्त्र भनिन्छ ।  

हुन त नेपालमा वि.सं. २००७ सालकाे क्रान्तिले जनताको शासन पद्दति भित्रिएको हो । जनताको, जनताद्वारा, जनताले शासन गर्ने व्यवस्था प्रजातन्त्र हो भनेर परिभाषित गरिँदै आइएको छ । गणतन्त्र र प्रजातन्त्रमा सैद्धान्तिक तवरले त्यति धेरै तात्विक भिन्नता नदेखिए पनि व्यवहारतः नेपालका सन्दर्भमा केही फरक बनाइएको छ ।

जनताले आभाष गर्न पाए गणतन्त्र ? 

०६२ /६३ सालको १९ दिने जनआन्दोलनमा नेपाली जनताले आफ्नो ठुलो त्याग र तपस्याले प्राप्त गरेको गणतन्त्रको आभास जनताले कति गर्न पाए ? बहसको विषय बन्न सक्छ । जसको त्याग र तपस्याबाट प्राप्त गरेको गणतन्त्रले संघीयता प्राप्त ग¥यो २०७४ मा पहिलो स्थानीय तह निर्वाचनबाट जनताले गाँउ घरमा सिंहदरबारको महसुस त गरे तर स्थानीय तह निर्वाचन पछि जनताले भ्रष्टाचार र व्यथितिको सामना मात्र गर्नु परिरहेकाे छ । देश संघीय व्यावस्थामा गए पछिकाे दोस्रो स्थानीय तह निर्वाचन भर्खरै सम्पन्न भएको छ । जसले कस्तो परिणाम दिने हो त्यो भने हेर्न बाँकी नै छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *