कैलाली । आइतबार बिहान सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि बालुवाटारमा शीर्ष नेताहरुकाे छलफल सुरु भयो । अन्तिममा औपचारिक सहमति भयो नागरिक उन्मुक्तिलाई प्रदेशमा नेतृत्व सम्हाल्न दिने । त्यपछि रञ्जिता श्रेष्ठ पक्षले नागरिक उनमुक्तिबाट कैलाश चौधरीलाई बनाउने निर्णय गर्यो र आजै दाबी पेश गर्ने जानकारी दिएको थियो । तर यहाँ त्यसको विपरीत भयो ।
तर यहाँ संघीयताको झल्को दिने गरी केन्द्रको निर्णय विपरित समाजवादी र नागरिक उन्मुक्ति पार्टीले अर्कै गठबन्धन गरि दिए । जसमा चार/चार जना समाजवादी र नागरिक भित्र रेशम पक्षका सांसद्ले नेपाली कांग्रेससँग गठबन्धन गरी नयाँ सरकार गठनका लागि प्रक्रिया सुरु गरे ।
अन्ततः सत्ताबाट बाहिरिएको कांग्रेसले पनि सम्झौता गर्यो र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीलाई समर्थन गर्दै मुख्यमन्त्रीमा दाबी पेश गरेको छ । उक्त गठबन्धनमा नेपाली काँग्रेस, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र राप्रपा रहेका छन् ।
केन्द्रमा माओवादी केन्द्र, नेकपा एमाले, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति लगाएतका दलहरूको गठबन्धन रहेका बेला प्रदेशमा काँग्रेस, समाजवादी, नागरिक उन्मुक्ति र राप्रपाको रेशम चौधरी पक्षधरले अर्काे गठबन्धन गर्दै केन्द्रबाट गरिने निर्णयलाई नराम्रो झापड दिएका छन् ।
सुदूरपश्चिम सरकार निर्माणको लागि काँग्रेस, समाजवादी र नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्ष तथा राप्रपाको अलग्गै समझदारी बनेको भन्दा केन्द्रको सत्ता गठबन्धनले गरेको निर्णय खेर गएको छ ।
समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी, नागरिक उन्मुक्तिका दलका नेता घनश्याम चौधरी, काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाहबिच समझदारी बनेपछि लक्ष्मण किशोरले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।
सुदूरपश्चिम प्रदेशमा काँग्रेसका १८, समाजवादीका चार र चार जना नागरिक उन्मुक्ति पार्टी तथा एक राप्रपाका प्रदेश सभा सदस्यहरू रहँदा जम्मा सङ्ख्या २७ हुन् जान्छ । जुन प्रदेश सभामा बहुमत प्राप्त हो ।
उता नागरिक उन्मुक्तिका तीन जना प्रदेश सभा सदस्यहरू भने कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउनु पर्ने पक्षमा रहेका छन्। उनीहरू अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका हुन्।
सुदूरपश्चिममा बहुमतको प्रदेश सरकार गठनका लागि २७ जना आवश्यक हो। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एक जनाका निधन भएको छ। नागरिक उन्मुक्ति पार्टीले प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई पदमुक्त गरिएपछि हाल ५१ सदस्य छन्।
सुदूरपश्चिममा नेपाली काँग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपा १ र १ जना स्वतन्त्र सांसद छन्। अब सरकार निर्माण गर्न २६ मत मात्र आवश्यक हुन्छ।














