सुदूरपश्चिमको मुख्यमन्त्री उन्मुक्तिको भागमा, कैलाश चौधरीले दाबी पेस गर्दै

कैलाली । आज बिहान बालुवटारमा बसेको शीर्ष नेताहरुको बैठकले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नागरिक उन्मुक्ति पार्टीलाई दिने औपचारिक सहमति गरेसँगै आज उन्मुक्तिका कैलाश चौधरीले दाबी पेस गर्ने भएका छन्।

केन्द्रमा शीर्ष नेताहरुको निर्णयले नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री दिने औपचारिक सहमति भएको पार्टीका प्रवक्ता दामोदर पण्डितले बताए। उनले भने, ‘बैठक सकिएको छ। नागरिक उन्मुक्तिले सुदूरपश्चिमको मुख्यमन्त्रीको पद पाउने औपचारिक सहमति भएको छ। अध्यक्ष ज्यू विमानस्थल आउदै हुनुहुन्छ । धनगढी जाने हो। कैलाश जीले मुख्यमन्त्रीमा दाबी पेस गर्नु हुन्छ।’

बैठकमा माओवादी माओवादीका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रहेका थिए।

आज सुदूरपश्चिम प्रदेशमा आज सरकार गठनका लागि दाबी पेस गर्ने अन्तिम दिन हो। आइतबार साँझसम्म मुख्यमन्त्रीमा दाबी पेस गरिने नागरिक उन्मुक्ति पार्टीले बताएको छ।