सुदूरपश्चिममा सरकार निर्माणको दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरू आफ्नै रस्साकस्सीमा

कैलाली । सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री नेपाली कांग्रेसका संसदीय दलका नेता कमल बहादुर शाहले गत चैत २२ गते पदबाट राजीनामा दिएपछि हाल प्रदेश मुख्यमन्त्री बिहिन बनेको छ ।

शाहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले त्यसको भोलि पल्ट चैत २३ गते नयाँ सरकार गठनको लागि दलहरुलाई दाबी पेश गर्न दिएको समयसीमा समेत आज सकिन लागेको छ।
प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत पुर्याएर दाबी पेश गर्न आज साँझ पाँच बजेसम्मको समयसीमा तोकेका थिए ।
प्रदेश प्रमुखले दिएको समय आज सकिँदै गर्दा पनि दलहरू बीचको विवाद र अडानका कारण ठोस सहमति जुट्न हाल सम्म पनि जुट्न सकेको छैन।

एमाले-माओवादी केन्द्रसहितको सत्ता गठबन्धनमा अहिले सम्म नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री पाउने भद्र सहमति भएको हल्ला समेत सुनेनी गरेको छ । तर, नेकपा एकीकृत समाजवादीले पनि आफ्नो दाबी कायमै राखेको छ ।
यात नागरिक उन्मुक्ति पार्टीभित्र तीव्र विवाद देखिएपछि मुख्यमन्त्रीको लिखित सहमति हुन ढिलाइ भइरहेको नेताहरु दाबी गरिरहेका छन् ।

स्वतन्त्र सांसद डा.तारा जोशी पनि यही गठबन्धनमै रहन चाहने बताइन्छ । यसरी बहुमत पुग्छ तर, नागरिक उन्मुक्तिकाे विवाद अझै सुल्झिएको छैन । सरकारमा दाबी पेश गर्न ढिलाइ भइरहेको माओवादी संसदीय दलका उपनेता अक्कल रावलले जानकारी दिएका छन् । अहिले सम्म पनि उन्मुक्ति भित्रको विवाद नसकिएकोले ढिलाइ भइरहेको उनले बताए । छलफल भइरहेकाले आज चाडै सबै कुरा टुङ्गो लाग्ने बताए ।
उन्मुक्तिबाट मुख्यमन्त्री पाउँदा कसलाई बनाउने भन्ने विषयमा पनि विवाद देखिएको छ । पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउने गरि अघि सारेकी छन् भने चार सांसदले लक्ष्मण किशोर चौधरीको नाममा सहमति गरेका छन् । यता नेकपा एकीकृत समाजवादीले पनि उन्मुक्ति भित्र विवाद रहेको र सात प्रदेश मध्ये एक प्रदेशमा आफ्नो मुख्यमन्त्री हुनु पर्ने जबरजस्त अडान राखेको छ ।

एमाले र माओवादी भने सुदूरपश्चिम प्रदेशमा नेतृत्व गर्ने भन्ने विषयमा लागेका छैनन् । एमाले संसदीय दलका नेता राजेन्द्र रावलले हिजो विशु पर्व मनाउने क्रममा आफूहरुले मुख्यमन्त्री बन्ने भन्ने भन्दा पनि विकास र समृद्धिको पक्षमा रहेको बताएका थिए । प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज सकिनै लाग्दा पनि अझै सम्म मुख्यमन्त्री कुन दलले पाउने भन्ने ठोस सहमति नहुँदा गठबन्धन भित्रै पनि छलफल र बहस हुन सकेको छैन ।

सुदूरपश्चिम प्रदेशमा अहिले प्रदेश सभा सदस्यको संख्या ५१ रहेको छ । कांग्रेसका पृथ्वीबहादुर सिंहको दुर्घटनामा मृत्यु भएको थियो भने उन्मुक्तिकी इन्दिरा गिरी पदमुक्त छिन् । यहाँ बहुमत पु¥याउन २७ सांसद चाहिन्छ । नयाँ सत्ता गठबन्धनका सभामुख बाहेक माओवादी केन्द्रका १०, एमालेका १० उन्मुक्तिका ६ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् ।
यस्तै कांग्रेसका १८, राप्रपाकाे एक र एक स्वतन्त्र सांसद् रहेका छ्न् ।

Share