दीपेन्द्रको विस्फोटक ब्याटिङ अन्तिम ६ बलमा ६ छक्का प्रहार

तस्बिर : क्यान

कैलाली । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपालका दीपेन्द्र सिंह ऐरीले अन्तिम ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका छन् ।

जारी प्रतियोगितामा दोस्रो खेलमा नेपालले कतारविरुद्धका २ सय ११ रनको लक्ष्य विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १० रन बनाएको हो ।

विशाल लक्ष्य प्रस्तुत गर्ने क्रममा पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका दीपेन्द्र सिंह ऐरीले विस्फोटक ब्याटिङको नमुना प्रस्तुत गर्दै २१ बलमा ६४ रनको शानदार पारी खेले । अन्तिम ओभरमा कमरान खानको बलिङमा ६ बलमा ६ छक्का प्रहार गरे । ऐरीले आफ्नो इनिङ्समा ३ चौका र ७ छक्का प्रहार गरेका थिए ।

यस्तै ओपनर आशिफ शेखले ५२ रनको योगदान दिए । उनले ४१ बलमा ६ चौका हिर्काए । कुशल मल्लले विस्फोटक ब्याटिङ गर्दै १८ बलमा ३५ रन बनाए । उनले दुई चौका र ३ छक्का हिर्काए ।

ऐरी नेपालका लागि एक ठूला सट खेल्न सक्ने क्षमतावान ब्याट्सम्यान हुन् । उनले चीनमा भएको एशियन गेम्समा ९ बलमा अर्धशतक प्रहार गर्दै विश्व किर्तिमान बनाएका थिए ।

Share