घोडाघोडीमा कक्षा ८ को परीक्षामा सामुदायिक भन्दा संस्थागतकाे नतिजा धेरै माथि 

साङ्केतिक तस्बिर

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाले यही चैत २ गतेदेखि ९ गतेसम्म नगर स्तरीय कक्षा ८ परीक्षा सञ्चालन गर्यो । परीक्षा सम्पन्न भएको दुई सातापछि नगरले नतिजा प्रकाशन गरेको थियो । समग्रमा नतिजा हेर्दा सामुदायिक विद्यालयको अवस्था निकै दयनीय देखियो ।

नगर स्तरीय परीक्षामा संस्थागत र सामुदायिक गरी कुल ४७ विद्यालय सहभागी भएका थिए । जसमा ३७ सामुदायिक र १० संस्थागत विद्यालय रहेका थिए । प्रकाशित नतिजा हेर्दा संस्थागत विद्यालयको समग्र नतिजा ७० प्रतिशत भन्दा कम छैन भने सामुदायिक विद्यालयको सबैभन्दा बढी ७२ प्रतिशत रहेको छ ।

समग्रमा नगर स्तरीय परीक्षामा नगरपालिका १ सुखडमा रहेको पिस लाइट बोर्डिङ स्कुलले शतप्रतिशत नतिजा हासिल गर्दै पहिलो बनेको छ । पिस लाइटबाट १९ जना परीक्षार्थी सहभागी भएकामा सबै उत्तीर्ण भए । संस्थागततर्फ सबैभन्दा कम ज्ञानज्योति माध्यमिक विद्यालय पहलमानपुरले ७०.८३ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल रह्यो ।

 

संस्थागत तर्फकाे नतिजा

यता सामुदायिक विद्यालयको हकमा भने भैरव आधारभूत विद्यालय लठौवाले ७२.०९ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै पहिलो स्थान ओगट्न सफल रह्यो । जसबाट ४३ जना परीक्षार्थी सहभागी भएकामा ३१ जना उत्तीर्ण भए ।

यस्तै छडी माध्यमिक विद्यालय बेलारले ६७.५ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै दोस्रो स्थान हासिल गर्यो । जसबाट ८० विद्यार्थी सहभागी भएकामा ५४ विद्यार्थी उत्तीर्ण भए । सामुदायिक विद्यालयतर्फ चार विद्यालयले मात्रै ५० प्रतिशत विद्यार्थी उत्तीर्ण गरायो । बाँकीले ५० प्रतिशत विद्यार्थी पनि उत्तीर्ण गराउन सकेन ।

यसरी समग्रमा हेर्दा संस्थागत तर्फको नतिजा निकै माथि रहँदा सामुदायिक विद्यालयको शैक्षिकस्तर निकै कमजोर देखिएको छ ।

सामुदायिक तर्फ विराट सनातन धर्म संस्कृति विद्यापीठ माध्यमिक विद्यालय, गंगरी आधारभूत विद्यालय बगुलीया र राष्ट्रिय माध्यमिक विद्यालय नकफोडूवाले भने शून्य प्रतिशत नतिजा हात पारे । जसबाट क्रमशः २६, १५, ३६ जना परीक्षार्थी सहभागी भएकामा कुनै पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन् ।

त्यसै गरि पाँच विद्यालयले १ जना, पाँच विद्यालयले २, दुई विद्यालयले ३ जना, एक विद्यालयले ५ जना विद्यार्थी उत्तीर्ण गरायो । समग्रमा हेर्दा निकै कमजोर स्थितिमा सामुदायिक विद्यालय गुज्री रहेको देखिएको पाइएको छ ।

सामुदायिक विद्यालयतर्फ नतिजा

तर व्यक्तिगत रूपमा भने सामुदायिक विद्यालयका छात्रले नगर स्तरीय परीक्षामा सबै भन्दा बढी जिपिए ल्याएका छन् । छडी माध्यमिक विद्यालय बेलारका अङ्कित आचार्यले संस्थागतलाई पछि पार्दै अग्र स्थानमा आएका हुन ।

Share