कैलाली । भारतमा जारी १७ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२४ का २३ औं खेल सम्पन्न हुँदासम्म अपराजित रहेको एकमात्र टोली राजस्थान रोयल्सकाे २४ औं खेलमा आएर उक्त अपराजित यात्रामा ब्रेक लागेको छ । बुधबार राति सम्पन्न खेलमा गुजरात टाईटन्सले राजस्थानलाई ३ विकेटले पाखा लगाएपछि पहिलो हार बेहोरेको हो ।
राजस्थान आफ्नो पाँचौं खेलमा आएर पराजित भएको हो । उसले लगातार चार खेलमा जित हात पारेको थियो ।
गएराति राजस्थानले दिएको १ सय ९७ रनको विशाल लक्ष्य गुजरातले अन्तिम बलमा पूरा गर्दै ३ विकेटको सनसनीपूर्ण जित हासिल गरेको थियो ।
गुजरातलाई अन्तिम ओभरमा १५ रन चाहिएको थियो । क्रिजमा थिए राशिद खान । उनले राजस्थानका बलर आवेश खानको पहिलो बलमा चौका प्रहार गरे । त्यस्तै दोस्रो बलमा दुई रन बटुलेका राशिदले तेस्रो बलमा पुनः चौका प्रहार गरे ।
अब बाँकी थियो ३ बलमा ५ रन आवश्यक चौथो बलमा उनले एक रन बटुले । त्यसपछि पाँचौं बलमा राहुल टेवाटिया ३ रन लिने धुनमा जोस बट्लरको हातबाट रन आउट सिकारको हुन पुगे । अन्तिम बलमा २ रन चाहिएको अवस्थामा राशिदले चौका प्रहार गर्दै गुजरातलाई रोमाञ्चक जित दिलाए ।
जित दिलाएका राशिद ‘प्लेयर अफ दि म्याच’ घोषित भए ।
गुजरातका लागि कप्तान तथा ओपनर ब्याट्सम्यान शुभमन गिलले ४४ बलमा सर्वाधिक ७२ रनकाे अर्धशतकीय पारी खेलेका थिए । यस्तै अर्का ओपनर साइ सुदर्शनले ३५ तथा राशिदले ११ बलमा २४ रन जोड्दा टेवाटियाले २२ रन जोडे ।
बलिङ तर्फ राजस्थानका कुलदीप सेनले ३ तथा युजवेन्द्र चहलले २ विकेट हात पार्दा आवेश खानले १ विकेट लिए ।
त्यसअघि जयपुरमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा मात्र ३ विकेट मात्र गुमाएर १ सय ९६ रनकाे विशाल लक्ष्य तयार गरेको थियो ।
उसका लागि रियान परागले सर्वाधिक ७६ रन तथा कप्तान सञ्जु सामसुनले ६८ रनकाे अर्धशतकीय पारी खेल्दै टोलीलाई विशाल लक्ष्य तिर लग्न ठूलो भूमिका खेलेका थिए ।
त्यस्तै यशस्वी जैसवालले २४ रन जोड्दा अन्तिम समयमा ब्याटिङ गर्न आएका शिमरोन हेटमायर पाँच बलको सामना गर्दै एक चौका र एक छक्काकाे मद्दतमा १३ रनमा अविजित रहे ।
गुजरातका लागि उमेश यादव, राशिद र मोहित शर्माले समान १ विकेट हात पारे ।
जित पछि गुजरात ६ खेलमा तिनमा जित हासिल गर्दै अङ्क तालिकाको छैटौँ स्थानमा रहेको छ । राजस्थान ५ खेलमा ८ अङ्क सहित पराजित भएपनि तालिकाको शीर्ष स्थानमा छ ।
आईपीएल क्रिकेटमा बिहीबार आज मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बेङ्ग्लोर भिड्ने भएका छन् ।
मुम्बई अङ्क तालिकाको आठौं स्थानमा छ भने बेङ्ग्लोर नबौं स्थानमा रहेको छ ।













