कैलाली । १७ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मङ्गलबार राती भएको २३ औं खेलमा सनराइजर्स हैदराबादले पञ्जाब किङ्स माथि २ रनको सनसनीपूर्ण रोमाञ्चक जित हात पार्यो । पञ्जाबलाई जितका लागि अन्तिम ६ बलमा २९ रन चाहिएको थियो तर उसले २६ रन मात्रै जोड्न सक्यो ।
अन्तिम ओभरमा पञ्जाबलाई जितका लागि २९ रन चाहिएको बेला क्रिजमा थिए, आशुतोष शर्मा र शशाङ्क शर्मा । बलिङ गर्न आए जयदेव उनादकट। उनको पहिलो बलमा आशुतोष शर्माले छक्का प्रहार गरे । त्यसपछि जयदेवले लगातार दुई वाइड फ्याँके । फेरि तेस्रो बलमा पनि आशुतोषले छक्का प्रहार गरे । जयदेवले चौथो बल भने केही संयमित भएर फ्याँके जसमा दुई रन आयो । अन्तिम २ बलमा ११ रन चाहिएकोमा पाँचौं बलमा आशुतोषले १ रन मात्र बटुल्न पाए। अन्तिम बलमा फेरि शशाङ्क शर्माले छक्का प्रहार गरे पनि त्यो जितको लागि प्रयाप्त हुन सकेन । अन्ततः पञ्जाबले हैदराबादसँग २ रनको झिनो हार बेहोर्न बाध्य भयो ।
चण्डीगढमा पञ्जाबले टस जितेर पहिले फिल्डिङ रोजेपछि सुरुवातमा ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८२ रनको चुनौतीपूर्ण आँकडा तयार पारेको थियो ।
हैदराबादका लागि युवा ब्याट्सम्यान नितिश कुमार रेड्डीले ३७ बलमा ४ चौका र ५ छक्काकाे मद्दतमा ६४ रनको अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै अब्दुल समादले २५ तथा ट्राभिस हेडले २१ रन जोडे।
बलिङतर्फ पञ्जाबका लागि अर्शदीप सिंहले ४ विकेट हात पारे । त्यसैगरी साम करन र हर्षल पटेलले समान २ तथा कागिसो रबाडाले १ विकेट लिए ।
१ सय ८३ रनको लक्ष्यसहित जबाफी ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन मात्र बनाउन सक्यो।
उसका लागि साम करनले २९ र सिकन्दर राजाले २८ रन जोडे त्यस्तै शशाङ्क शर्माले ४६ र आशुतोष शर्माले १५ बलमा ३३ रनको विस्फोटक अविजित इनिङ खेले पनि हार टार्न भने सकेनन्। यो जोडीले अन्तिम ओभरमा २६ रन बनाए पनि पञ्जाब २ रनले पराजित हुन पुग्यो।
बलिङतर्फ हैदराबादका लागि भुवनेश्वर कुमारले २ विकेट विकेट लिँदा कप्तान प्याट कमिन्स, नटराजन, नितिश रेड्डी र जयदेव उनादकटले सामान १ विकेट हात पारेका थिए ।
यो जितसँगै हैदरावाद ५ खेलमा ३ जितसहित ६ अङ्कका साथ अङ्क तालिकाको पाँचौं स्थानमा रहेको छ । यता समान खेलमा ४ अङ्क जोडेको पञ्जाब भने छैटौँ स्थानमा रहेको छ।
आईपीएल क्रिकेटमा आज अङ्क तालिकाको पहिलो स्थानमा रहेको राजस्थान रोयल्स र तेस्रो स्थानको गुजरात टाइटन्स भिड्ने छन्। खेल नेपाली समय अनुसार राती पौने आठ बजे सवाई मानसिंह स्टेडियम जयपुरमा हुने छ ।
राजस्थान जारी आईपीएलमा एक मात्रै अपराजित टोली हो । उसले हालसम्म खेलेका चारै खेलमा जित हात पारेको छ । यस्तै गुजरातले भने चार मध्ये एक खेलमा हार बेहोरेको छ।













