डोल्पामा डढेलो निभाउने क्रममा गम्भीर घाइते भएका ४ मध्ये ३ सैनिकको मृत्यु

डोल्पा । आइतबार दिउँसोदेखि डोल्पा दुनैको ठूलीभेरी नगरपालिका-४ तिप्लामष्टाको भवानी सामुदायिक वनमा आगलागी भयो । सोही आगो निभाउने गएका १६ जना सैनिक घाइते भए जसमा पनि ४ जना गम्भिर घाईते भएका थिए । गम्भीर घाईते भएका ४ जना सैनिक मध्ये ३ जनाको मृत्यु भएको छ।

जुम्लाको तातोपानी गाउँपालिका-४ स्थायी घर भइ देविदत्त गुल्म दुनैमा कार्यरत २८ वर्षीय हेमन्त रावतको सोमबार मृत्यु भएको थियो । यस्तै देविदत्त गुल्ममा कार्यरत काभ्रेका ३८ वर्षीय जम्दार केशव बहादुर दर्जा मगर र हुम्लाका २३ वर्षीय आशिष बुढाको मंगलबार उपचारका क्रममा मृत्यु भएको जनाईएको छ ।

मगर र बुढाको उपचारका क्रममा मङ्गलबार दिउँसो काठमाडौँको कीर्तिपुर अस्पतालमा मृत्यु भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले सञ्चार माध्यमलाई जानकारी दिएका छन् ।

आइतबार भएको आगलागी निभाउने क्रममा घाइते भएका ४ जनामध्ये सोमबार साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत आशिष बूढा र विजय कोइरालालाई नेपालगञ्जस्थित भेरी हस्पिटल पठाइएको थियो। त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि घाइतेहरूलाई काठमाडौँ पठाइएको थियो।

मृतक रावतको शव मङ्गलबार दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत उनको गृह जिल्ला जुम्ला पठाइएको जनाइएको छ। आगोमा जलेर सिकिस्त भएका प्युठ विजय कोइरालाको भने हाल कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

आगो आइतबार लागेको भएपनि सोमबार पुनः सल्किएपछि देविदत्त गुल्म भदालेमा कार्यरत नेपाली सेनाका १६ जनाको टोली सोमबार बिहान आगो निभाउन गएको थियो।

आगो निभाउने क्रममा घाइते भएका अरु १२ जनाको जिल्ला अस्पताल डोल्पामा उपचार भइरहेको छ।

यस वर्ष देशका करिब ८ सय ठाउँमा भइरहेका आगलागी नियन्त्रण गर्नका लागि १२ हजार ५ सय सैनिक परिचालित गरिएको नेपाली सेनाले जनाएको छ।

Share