कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमालेका यामलाल कँडेलको नियुक्त

तस्बिर : अनलाइन खबर

कैलाली । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता यामलाल कँडेल आज नियुक्त भएका छन् ।

यस अघिका मुख्यमन्त्री राजकुमार शर्माले चैत २१ गते प्रदेश प्रमुख समक्ष पदबाट राजीनामा दिएपछि सोही मितिदेखि लागू हुने गरी प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा वढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने दललाई आज साँझ ५:५० बजे भित्र दाबी पेस गर्न भनेका थिए ।

सोही अनुसार निर्धारित समयमा एमाले कर्णाली प्रदेश सभा संसदीय दलका नेता कँडेलले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लगायतका २३ सांसदहरूको हस्ताक्षर सहितको समर्थन पत्र पेश गरेका थिए । त्यसै अनुसार प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

कर्णालीमा एमालेका ९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका एक सांसद रहेका छन् । एमालेका १० प्रदेश सभा सदस्य रहेकामा नन्दा गुरुङ सभामुख रहेका छन् । उनले कानुनी रूपमा मत दिन पाउँदैनन् । प्रदेशमा सरकार गठनका लागि २१ जना सांसदको आवश्यक पर्छ ।

यस अघि कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले केन्द्रको दबाबमा परी राजीनामा दिएका थिए । केन्द्रको सत्ता समीकरण र भागबण्डाका आधारमा कर्णाली एमालेको भागमा परेपछि उनले विश्वासको मत लिने तयारी गरे पनि अन्ततः केन्द्रको दबाब थेग्न नसकेर राजीनामा दिन परेको थियो ।

Share