काठमाडाैं । कवि लोकराज भट्टको पहिलो उपन्यास “छाइल” अहिले चर्चामा छ । डोटेली भाषामा “छाइल” को अर्थ ‘छाँया’ हुन्छ । उपन्यासका हरेक पृष्ठमा डोटेली सभ्यताको छाँया पाठकको आँखामै छाइरहनू कृतिको सबै भन्दा बलियो पक्ष मान्न सकिन्छ । लेखकको पहिलो उपन्यास भएपनि पाठकलाई त्यसको अनुभुति रहँदैन् । यस उपन्यासलाई २०७८ सालको डेब्यु गैरकाव्य (आख्यान र गैरआख्यान) विधाका पुस्तकलाई ५० हजार राशिकाे ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कारका लागि ११ पुस्तकको सूचीमा समेत समावेश गरिएको छ । छाइलमा सुदूरपश्चिमका युवाहरूको आफ्नो कथा छ । युवाकाे संघर्ष छ, गरिबी छ, प्रेम छ । पाठकले आफैलाई छाइलमा भेट्न सक्छन् । मूलतः बाबु र छोराको अन्योन्याश्रित सम्बन्ध उपन्यासमा समेटिएको छ।
पुस्तकका बारेमा वरिष्ठ समालोचक राजकुमार बानियाँ लेख्छन्, “यसमा युवाको सपना र सङ्घर्षका साथै पिता र पुत्रको मित्रवत् सम्बन्धलाई उजिल्याएको छ । नयाँ, नौलो र नवीन परिवेशको कथा रुचिकर छ ।” बुक्स हिमालयले प्रकाशनमा ल्याएको छाइल छोटो समयमा नेपाली पाठकको रोजाइमा पर्न गएको छ ।

नेपाली साहित्य आकाशमा पहिलो पल्ट उपन्यास मार्फत डोट्याली सभ्यता उजागर गरिएको समिक्षक र पाठकहरुले बताउदै आएका छन् । छाइलमा सुदूरपश्चिममा प्रयोग गरिने डोटेली भाषाको प्रयोग भरमग्दुर पाइन्छ । उपन्यासमा कविको अनवरत साहित्य प्रेम प्रष्ट देखिन्छ ।
सुदूरपश्चिमेली सुगन्ध बोकेको उपन्यास देशभरका पुस्तक पसलमा सजिलै किन्न सकिन्छ । ४५० रुपैयाँ मूल्य तोकिएको पुस्तकका ३१४ पृष्ठ छन् । गर्मी मोसममा साहित्य प्रेमी मनहरूलाई छाइलले भरपुर शीतलता प्रदान गर्ने पक्का छ । लेखकले भनेका छन् “समयसँगै चलिरहने प्रेम, जीवन भोगाइ अनि भुइँ मान्छेहरूकाे कथा हो छाइल ।“ गुणात्मक कृतिका रूपमा नेपाली साहित्य आकाशमा नयाँ तारा ‘छाइल’ बनेको छ । यो उपन्यास सँगै कवि लोकराज भट्ट नेपाली साहित्य प्रेमीहरूका रोजाइका लेखक बन्दै गएको छाइलको सफलताले प्रष्ट्याएकाे छ ।













