भारतमा रहेको नेपाली क्रिकेट टोलीले आज गुजरातसँग खेल्दै

तस्बिर : क्यान

कैलाली । टी २० विश्वकप क्रिकेटको तयारीका लागि विभिन्न सिरिज खेली रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली यतिबेला भारतमा रहेको छ। जहाँ नेपाल, गुजरात र बरोडा बीच त्रिकोणात्मक टी २० फ्रेन्डशिप कप आजदेखि शुरु हुँदैछ ।

फ्रेन्डशिप कपको उद्घाटनमा नेपालले आज गुजरातसँग खेल्दै छ । खेल दिउँसो १:१५ बजे शुरु हुने भएको छ ।

यस्तै नेपालले दोस्रो खेल मङ्गलबार बरोडासँग खेल्ने छ। चैत २१ मा फेरि नेपाल र गुजरात तथा चैत २३ मा नेपाल र बरोडाबीच खेल हुने तालिका रहेको छ । फाइनल खेल चैत २५ गते हुनेछ ।

भारतमा खेल्न जानु अघि नेपालले घरेलु मैदानमा आयरल्याण्डको ओल्भस टोलीसँग दुई खेलको टी २० क्रिकेट श्रृङ्खला खेलेको थियो । जसको उपाधि नेपालले नै उचालेको थियो । ओल्भस यति खेर नेपालको ए टोलीसँग एकदिवसीय र टी २० सिरिज खेल्न नेपालमै रहेको छ ।

नेपाल क्रिकेट सङ्घ क्यानले भारतमा खेल्ने फ्रेन्डशिप कपका लागि नियमित कप्तान रोहितकुमार पौडेलको कप्तानीमा टोली घोषणा गरेको थियो । जसमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख (विकेट किपर), कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दिप जोरा, अनिलकुमार शाह, गुलसन झा, दीपेन्द्रसिंह ऐरी, ललित नारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अविनाश बोहरा र आकाश चन्द रहेका छन् ।