कैलाली । हालसम्म अङ्ग्रेजी भाषामा मात्रै प्रश्नपत्र बनाउने गरेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अबदेखि भने अङ्ग्रेजी र नेपाली दुवै भाषामा तयार गर्ने भएको छ ।
त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बिहीबार बसेको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु अङ्ग्रेजी र नेपाली दुवै भाषामा बनाउने निर्णय गरेको शुक्रबार एक सूचना सार्वजनिक गर्दै जानकारी दिएको छ ।
वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा आगामी प्रथम वर्षको परीक्षा देखिनै अनिवार्य रूपमा लागु गर्ने छ । सोही अनुसार क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागु गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ ।
अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र तयार गर्नु पर्ने माग त्रिविमा यसअघि नै आएको थियो । तर त्रिविले ढिला गरी भएपनि उक्त मागहरुलाई सम्बोधन गरेको छ ।














