कैलाली । कैलालीकाे घोडाघोडी नगरपालिका-१, मा अवस्थित राष्ट्रिय माध्यमिक विद्यालयले आफ्नो नाममा रहेको जग्गा खाली गराउन एक साता अघि ७ दिने सूचना जारी गरेको थियो । तर त्यसको समयावधि समाप्त नहुनै जिल्ला अदालत कैलालीले तत्काललाई जग्गा खाली नगराउन स्टे अर्डर जारी गरेकाे छ ।
स्टे अर्डरपछि विद्यालयले तत्काल जग्गा खाली गराउन नपाउने भएकाे छ । विद्यालयकाे नाममा दर्ता स्रेस्ता रहेको कित्ता नं ९७ को ८ कठ्ठा जग्गामा पक्कीघर निर्माण गरी ४०औं वर्षदेखि बसोबास गर्दै आएका घर टहराहरू हटाउने र सोही ठाउँमा आवासीय विद्यालय बनाउने योजना बनाएको थियो । तर अदालतकाे आदेश दिएपछि तत्काललाई विद्यालय आफ्नो निर्णयबाट पछि हट्न बाध्य बनेको छ ।
जिल्ला अदालतका न्यायाधीश प्रदीपकुमार उपाध्यायले तत्काल जग्गा खाली नगर्न नगराउन आदेश दिएका हुन् ।
विद्यालयले आफ्नो नाममा दर्ता रहेको उक्त ८ कट्ठा जग्गा खाली गराउन अन्तिम पटकका लागि फागुन १४ गते ७ दिने सूचना जारी गरेको थियो। तर अदालतले फागुन २० गते नै स्टे अर्डर दिएको अदालतले जारी गरेको आदेशमा मिति उल्लेख गरिएको छ ।
अदालतको यस्तो आदेशपछि हामीले राष्ट्रिय माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र हमाल आजका लागि तय गरिएका कार्य स्थगित गर्दै कानुनी प्रक्रियाबाट अघि बढ्ने बताए । अदालतको आदेशको अवज्ञा गर्न नहुने भएकाले बाँकी कानूनी प्रक्रिया अनुसार नै आफूहरू अघि बढ्ने उनको भनाई थियो ।














