केन्द्रको सत्ता समीकरणको प्रभाव, सुदूरपश्चिम सरकारका तीन मन्त्री बर्खास्त

कैलाली । सोमबार केन्द्रको सत्ता समीकरणमा परिवर्तन भए संगै जसको प्रत्यक्ष प्रभाव प्रदेश सरकारमा पनि परेको छ । सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा माओवादीका तर्फबाट मन्त्री बनेका दुई मन्त्री र एक राज्यमन्त्रीलाई मङ्गलबार बर्खास्त गरिएको छ ।
नयाँ सत्ता गठबन्धनको प्रभाव प्रदेशमा परेसँगै बनेपछि मुख्यमन्त्री शाहले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउद र उद्योग राज्यमन्त्री गीतादेवी माललाई बर्खास्त गरेको बताएका छन् ।
मन्त्री बर्खास्त गरेसँगै उनले ती मन्त्रालयको जिम्मा आफैसँग राखेका छन् ।
तर मुख्यमन्त्रीले नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई भने यथावत् राखेका छन् । सुदूरपश्चिममा नागरिक उन्मुक्ति र नेकपा(एस) को समर्थन कायम रहेमा मुख्यमन्त्रीलाई सुविधाजनक बहुमत पुग्छ । त्यसकारण उनले ती दुवै पार्टीलाई मिलाउन उनीहरूलाई यथावत राखेका हुन ।
५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ ।

Share