कैलाली । गत वर्ष माघ १४ गते देखि कैलालीको घोडाघोडी नगरपालिका-१, स्थित हेलीप्याडमा शिवशक्ति सामुदायिक वनको समन्वय र घोडाघोडी उद्योग वाणिज्य सङ्घको पहलमा पहिलो पटक ‘कृषि हाट तथा थोक बजार’ सञ्चालन भयो । हप्तामा दुई दिन शनिबार र मंगलबार हाट बजार सञ्चालन गर्ने वाणिज्य सङ्घले बताएको थियो । सोही अनुसार हाट बजार हाल सम्म पनि सञ्चालित छ ।
स्थानीय उत्पादनले बजार पाउने र उपभोक्ताले पनि ताजा उत्पादन गरेका तरकारीहरू सर्व सुलभ मूल्यमा पाइने भन्दै हाट बजार सञ्चालनमा आउँदा नगरवासीमा खुसी छाएको थियो । तत्काललाई अर्को विकल्प नभएसम्म सुखड चोक स्थित हेलिप्याडमा हाट बजार सञ्चालन गर्ने सहमति भयो । हाट बजार सञ्चालनमा आएसँगै किसानले उत्पादन गरेका कृषिउपजले बजार पायो । उपभोक्ता पनि ताजा तरकारी पाउन थालेपछि उत्साहित थिए । किसानले उत्पादन गरेका कृषिजन्य वस्तुले बजार नपाउँदा हुने गरेको समस्या लगभग कम भयो । स्थानीय उत्पादनले निकै बजार पाउन थाल्यो ।
किसानहरूमा कृषिजन्य वस्तुले बजार पाउँदा खुसी थपेकाे छ । तर खुला आकाश मुनि बसेर बेच्नुपर्ने समस्याकाे स्थायी समाधान नहुँदा चिन्तित छन् । चिसो मौसममा जेनतेन गरी खुला आकाशमा बसेर तरकारी बेच्न सजिलो भए पनि गर्मी मौसममा चर्को घाम र वर्षायामको पानीले सताई रहेको छ । गर्मीमा किसानले ल्याएको तरकारी उपभोक्ताले किन्ने बेला सम्म घामले मुर्छाउँछ भने वर्षामा जताततै हिलाम्मे हुनुका साथै खुला आकाश मुनि बसेर तरकारी बिक्री गर्नु ठूलो चुनौती छ । तर एक वर्ष किसानले यस्ता समस्यालाई झेल्दै कृषिउपज बेचिरहेका छन् ।
त्यसै पनि हाट बजार सञ्चालनमा रहेको हेलिप्याड सार्वजनिक खुला मञ्च हो । जहाँ बेला बखत हुने मेला महोत्सव र राजनीतिक दलका कार्यक्रमले हाट बजारलाई बिथोल्ने गर्छ । गत वर्ष फागुन १६ गते हामीसँग कुरा गर्दै घोडाघोडी उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गा प्रसाद गौतमले यसको समाधानका लागि परेको र सबैसँग समन्वय गरी सुखडमा उपयुक्त स्थान निर्धारण गरिने बताएका थिए । तीन महिना भित्र टनेल निर्माण गरी हात बजार सञ्चालन गर्ने वाचा समेत गरेका थिए । तर किसानकाे अवस्था हाल सम्म उस्तै छ । किसानले हाट बजारमा लागि विभिन्न स्थान भाैतारीनु परेकाे छ ।
वाणिज्य संघका अध्यक्ष गौतमले समन्वयको अभाव र राजनीतिक प्रतिशोधका कारण एक वर्षदेखि हाट बजारका लागि जग्गा उपलब्ध गराउन नसकेको स्वीकार गरे । उनले भने, ‘जग्गाको लागि समन्वयको अभाव भइरहेको छ । हामी एक वर्ष देखि वडा, नगर हुँदै सामुदायिक वनसँग समन्वय गर्न लागि परेका छौँ तर पनि त्यो सफल हुन सकेको छैन । यसमा राजनीतिक स्वार्थ र राजनीतिक हस्तक्षेप रहेको छ ।’
नगरपालिकाले हाट बजार सञ्चालनका लागि ट्रस्ट निर्माण गर्न २० लाख बजेट समेत छुट्याएकाे र आवश्यक बजेट उपलब्ध गराउने प्रतिबद्दता जनाएकाे अध्यक्ष गाैतमकाे भनाइ थियो । तर, माथिल्लो स्थरबाट राजनीतिक पावर लाग्न थाकेको उनको दाबी छ । सामुदायिक वनसँग समन्वय नहुँदा आएको बजेट समेत फ्रिज जाने सम्भावना रहेको गौतमले बताए ।
हाट बजार सञ्चालनका सामुदायिक वनसँग समन्वय गर्नका लागि घोडाघोडी नगरपालिका वडा नं १ का अध्यक्ष घनश्याम ओझाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । जसले निश्चित ठाउँ हेरी सामुदायिक वनसँग समन्वय गर्नु पर्ने छ । स्थानीय सरकारले अतिक्रमण गरेर बनाउन पनि नमिल्ने, सामुदायिक वनसँग समन्वय नहुँदा कुरा अडकिएको हो । केही समयमा यसको समाधान निकालीने उनले बताए ।
कृषकका आफ्नै पीडा
हाट बजार सञ्चालन भएको वर्षदिन पुग्दा समेत किसान उही खुला आकाश मुनि यता र उता भौँतारिदै कृषिउपज बिक्री गर्न हप्ताको दुई दिन सुखड चोकमा पुग्छन् । गत वर्ष हात बजार सञ्चालन भएको केही दिनमै उद्योग वाणिज्य संघले सो ठाउँमा महोत्सव आयोजना गर्यो । हाट बजार चाहिँ त्यसको पूर्व पट्टी इलाका प्रहरी कार्यालयको मुखैमा राजमार्गको छेवैमा सञ्चालन भयो । करिब ७ महिना सोही ठाउँमा सञ्चालन भयो । जहाँ सडक छेउमै भएका कारण दुर्घटनाको उच्च जोखिम पनि थियो ।

उक्त हाट बजार पुन: हेलिप्याड मै सारियो । यस वर्ष पुस २६ गते देखि लागेको महोत्सवले राजमार्ग छेउमै धकेलिदियो । त्यो सम्पन्न पछि फेरि पहिलेकै ठाउँमा कायम भयो । त्यसको केही दिनमा फेरि हेलिप्याडमै पनि पश्चिम तिर छेउमा हाल हाट बजार सञ्चालनमा छ ।
राम्रो मूल्य नपाउने र उपभोक्ताले सस्तो मूल्यमा तरकारी खोज्ने गरेको भन्दै फुलकुमारी चौधरी गुनासो पोख्छिन् । उनी भन्छिन्, ‘दिउँसो भरी घामपानी नभनी तरकारी बेच्नु पर्छ तर मानिसहरू महँगो भन्ने गर्छन । उत्पादन गर्न कति समस्या छ, हामीलाई मात्रै थाहा छ । सङ्घ संस्था तरकारी उत्पादन गर भन्छन् हामीले मूल्य पाउँदैनौं गरौँ कि नगरौँ भएको छ ।’
त्यसैगरी अर्का कृषक टेक बहादुर मगर भन्छ्न्, ‘हाट बजार त पायौँ तर व्यवस्थापन नभएको खुला आकाश मुनि। यसलाई हाट बजार भनौँ या खुला बजार । कुनै व्यवस्थापन नै छैन । वर्षामा पानीमा रुझ्नु परेको छ चैत बैशाखमा चर्को गर्मीमा तरकारी डडाउँदै बस्नु परेको छ । यसका सम्बन्धित निकायको ध्यान जानु पर्ने हो तर गएको छैन ।“
किसान आफ्नै पीडामा छन् यता सम्बन्धित निकाय भने जग्गा समन्वयको अभाव देखाएर टार्न खोजी रहेको छ ।
लाखौंको लगानी बालुवामा पानी
नगरपालिकाको मुख्य चोकदेखि करिब ३ किलोमिटर उत्तर कृषि हाट बजारका लागि संरचना निर्माण गरेको करिब दुई वर्ष भन्दा बढी भयाे । सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ५० लाखको लगानीमा निर्माण गरिएका उक्त संरचना प्रयोग विहीन छन् । सुखड बजारमा हाट बजार निर्माणका लागि जग्गा उपलब्ध नभएपछि अन्ततः ती संरचना सो ठाउँमा निर्माण गरिएका हुन् । तर उक्त संरचना मुख्य बजार देखि निकै टाढा रहेकाले त्यहाँ हाट बजार सञ्चालन हुन् नसक्ने घोडाघोडी उद्योग वाणिज्य संघका अध्यक्ष गौतम बताउँछन् । राजनीतिक स्वार्थका कारण ती संरचना कृषक तथा उपभाेक्तालाई पायक नपर्ने तर पछि गएर संकलन केन्द्र राख्न सकिने उनी बताउँछन् ।

कसैलाई पनि पायक नपर्ने स्थानमा लाखाैका भाैतिक संरचना निर्माण गरिए प्रयाेग विहिन छाडिएकाे छ । तर यता किसान खुला आकाशमुनि बस्न बाध्य छन् ।














