कैलाली । त्रिदेशीय टी २० क्रिकेट शृङ्खलामा घरेलु टोली नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । दोस्रो जित निकाल्ने क्रममा शनिवार कीर्तिपुरमा नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गरेको हो। यो जित सँगै पहिलो शृङ्खलाको दोस्रो खेलमा दुई रनले बेहोरेको हारको बदला समेत नेपालले लिएको छ ।
नेदरल्याण्ड्सलाई १९ ओभर ३ बलमा अल आउट गर्दै १ सय २० रनमा सीमित पार्न सफल रह्यो । जसमा नेपालका बलरहरूले किफायती बलिङ प्रदर्शन गरे ।
१ सय २१ रनको मध्यम लक्ष्य भने नेपालले मात्रै ४ विकेट गुमाएर १५ ओभर २ बलमा पूरा गरेको थियो ।
नेपालको जितमा कप्तान रोहित पौडेल र गुल्सन झाले ब्याटिङमार्फत महत्त्वपूर्ण योगदान दिए। कप्तान पौडेलले ४६ रन जोडे भने झा ३८ रन बनाएर पेभिलियन फर्किएका थिए।
टस जितेर पहिले ब्याटिङ रोजेको नेदरल्याण्ड्सले १९ ओभर ३ ओभरमा अलआउट हुँदै १ सय २० रनको आँकडा खडा गर्यो।
कीर्तिपुरको भरिभराउ मैदानमा उपस्थित दर्शकमाझ नेपाली बलरहरूले किफायती बलिङ गर्दै विपक्षी खेलाडीहरूलाई रोक्न सफल भएका थिए।
पहिलो ओभरमै करण केसीले विपक्षीको दुई विकेट लिएर नेपालको सुरुआत शानदार बनाएका थिए ।
तर त्यसपछि नेदरल्याण्ड्सका म्याक्स ओ डाउड र स्कट एडवार्ड्सले संयमित ढङ्गले खेल्दै तेस्रो विकेट अघि ५० रनको साझेदारी गर्दै खेललाई नियन्त्रणमा ल्याउन प्रयास गरेका थिए । तर नेपालका युवा खेलाडी प्रतिश जिसी चम्किएपछि नेदरल्याण्ड्स फेरी समस्यामा पर्यो।
प्रतिशले खेलमा जमिरहेका यी दुवै जोडीलाई बोल्ड गरे। उनले स्कटलाई १८ रनमा र म्याक्सलाई ३१ रनमा पेभिलियनको बाटो देखाई दिए । धेरै पछि टोलीमा मौका पाएका प्रतिशले कुल ३ विकेट हात पारे । साथै उनी म्यान अफ दि म्याच समेत घोषित भए ।
प्रतिशसँगै पार्ट टाइम बलर स्पिनर कुशल मल्लले २ विकेट लिएपछि नेदरल्याण्ड्सको मध्यपङ्क्ति तहसनहस भएको थियो। नेपाल पूर्ण रूपमा उ माथि हावी भयो । कुशलले दसौँ ओभरमा नोआ क्रोस लाई ३ रनमा र आर्यन दत्तलाई शून्य रनमा पेभिलियनको बाटो देखाई दिए । त्यस्तै दिपेन्द्रसिंह ऐरीले पनि १ विकेट लिए।
अन्तिम विकेट अघि कुशल भुर्तेलले छक्का जोगाउँदै विपक्षी लाई रन आउट गर्नु कीर्तिपुरमा देखिएको एउटा शानदार दृश्य थियो। छक्काको दिशामा बाउन्ड्रीमा गएको बललाई उनले उफ्रिएर छक्का जान रोके र लगत्तै विकेट किपर हातमा बल फ्याँके । जसमा भिभियन किङ्मा रन आउट भएसँगै पारी समाप्त भयो ।
फाइनलमा को को पुग्लान्?
यस अघि त्रिदेशीय टी २० क्रिकेट शृङ्खलामा लगातार बेहोरिरहेको हार पन्छाउँदै नेपालले शुक्रवार कीर्तिपुरमा भएको खेलमा नामिबियालाई ३ रनले पराजित गर्दै लगातारको हारमा ब्रेक लगाएको थियो । उक्त जितसँगै नेपालको फाइनलमा पुग्ने आशा कायमै रहेको थियो।
त्रिदेशीय टी २० शृङ्खलामा नेपालले सुरुका दुई खेलमा आगन्तुक टोलीहरूसँग हार बेहोरेको थियो। यस शृङ्खलामा प्रत्येक टोलीले अरू दुई टोलीसँग दुई पटक खेल्नुपर्छ।
जस अनुसार नेपालले नामिबिया र नेदरल्याण्डस् सँग दुई दुई खेल खेल्दै दुई जित दुई हार बेहोर्दै अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ । सुरुवातमा दुई खेलमा जित निकालेको नेदरल्यान्डस् भने तालिकाको शीर्ष स्थानमा रहेको छ । समान अङ्क भएपनि उ नेट रन रेटमा अगाडि हुँदै शीर्ष स्थानमा छ ।
पछिल्लो परिणामसँगै फाइनल पुग्ने टोलीहरूको छिनोफानो भने आइतबार नेदरल्याण्ड्स र नामिबियाबीचको खेलको परिणामले टुङ्गो लाग्नेछ।
जारी शृङ्खलामा सुरुको दुई खेल लगातार हारेपछि दबाबमा परेको नेपाल पछिल्ला दुई खेलमा जित्दै खेलमा फर्केको छ।
शनिवारको जितको अर्थ नेपालको त्रिकोणात्मक शृङ्खलाको फाइनल पुग्ने सम्भावना बलियो हुनु हो।
अब भोलिको खेलमा नेदरल्याण्ड्ससँग नामिबिया पराजित भएमा नेपाल सिधै फाइनलमा पुग्ने छ भने भोलि नेदरल्याण्ड्स पराजित भएको खण्डमा नेट रन रेटका आधारमा फाइनल खेल्ने टोलीको टुंगो लाग्ने छ ।
तर नामिबियाले जित निकालेर मात्रै उ फाइनल पुग्ने छैन । उसले फराकिलो जित हात पार्नु पर्ने छ । किनकि नेदरल्याण्ड्स र नेपालको नेट रन रेट निकै राम्रो रहेको छ । त्यसकारण पनि भोलिको खेलको नतिजाले खासै फरक पर्ने छैन । तर नेदरल्याण्ड्स माथि फराकिलो अन्तरले नामिबियाले जित दर्ता गरेमा मात्रै केही तल माथि हुने छ ।














