क्यानको बोल्ड निर्णय, ग्रेड ‘ए’ का खेलाडीको तलब एक लाख, सेन्ट्रल कन्ट्र्याक्टमा ३० क्रिकेटर

कैलाली । नेपाल क्रिकेट संघ क्यानको यही फागुन १२ र १४ गते सम्पन्न केन्द्रिय कार्यसमितिको बैठकले पहिलो पटक बोल्ड निर्णय गर्दै खेलाडीमा हौसला बढाएको छ । क्यानको सम्पन्न बैठकले पुरुष तथा महिला खेलाडीको तलब वृद्धि गर्ने निर्णय गरेको हो ।

पहिलो पटक क्यानले खेलाडीको हौसला बढाउन तलबमा एकै पटक ठूलो मात्रामा वृद्धि गरेको छ । पहिलो पटक क्यानले ग्रेड ए का खेलाडीको मासिक तलब १ लाख पुर्याएको छ । क्यानले यस पटक खेलाडीको सेन्ट्रल कन्ट्र्याक्टमा पनि ३० खेलाडीलाई समावेश गरेको छ । जसमा डी ग्रेड र इमर्जिङ क्याटगोरी पनि छुट्याएको छ । यसअघि सी ग्रेड सम्म मात्रै छुट्याउने गरेको थियो ।

तर यस पटक भने क्यानले निकै परिवर्तनमुखी तथा उपलब्धि मूलक कार्यको सुरुवात गरेको छ । केन्द्रीय कार्यसमिति बैठकले ए ग्रेडमा ६ जना । जसमा राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेल, सोमपाल कामी, करण के.सी., दिपेन्द्र सिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल परेका छन् । उक्त ६ जनाले मासिक तलब १ लाख पाउने छन् । यस अघि ए ग्रेडका खेलाडीले मासिक ६० हजार पाउने गरेका थिए । उक्त निर्णय क्यानले गत वर्ष जेठमा गरेको थियो ।

यस्तै यस पटक बि ग्रेडमा कुशल मल्ल, गुल्सन झा, भीम सार्की, ललित नारायण राजवंशी, आरिफ शेख र अविनाश बोहरा परेका छन् । उनीहरूले मासिक पारिश्रमिक ७० हजार पाउने छन् । यसअघि यो ग्रेडका खेलाडीले मासिक ५० पारिश्रमिक पाउने गरेका थिए । त्यसै गरी क्यानले गरेको निर्णयमा सी ग्रेडका खेलाडीले मासिक ५५ हजार तलब पाउने भएका छन् । जसमा बिनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिश जी. सी. रहेका छन् । यस अघि सी ग्रेडमा रहेका खेलाडीले ४० हजार रुपैयाँ मासिक तलब पाउने गरेका थिए ।

यस पटक क्यानले नयाँ थालेको ग्रेड डी मा पवन सर्राफ, सागर ढकाल, अनिल शाह, विवेक कुमार यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ परेका छन् । जसमा उनीहरूले मासिक रूपमा ३५ हजार पारिश्रमिक तलब पाउने भएका छन् ।

सोही अनुसार क्यानले निर्धारण गरेको ईमर्जिङ क्याटगोरीमा दिपेश कडेल (कोशी), रुपेस सिंह (मधेश), रिजन ढकाल (बागमती), बिपिन खत्री (गण्डकी), देब खनाल (लुम्बिनी), अर्जुन घर्ती (कर्णाली) र हेमन्त धामी (सुदूरपश्चिम) छन् । जसमा उनीहरूले २५ हजार मासिक तलब प्राप्त गर्ने छन् । जुन यो क्यानको निकै ठूलो उपलब्धि मूलक निर्णय हो ।

यस्तै क्यानले महिला राष्ट्रिय खेलाडीको तलब समेत वृद्धि गरेको छ । यस अघि न्यून पारिश्रमिकमा खेल्दै आएका उनीहरूका लागि यस पटक क्यानले निकै आकर्षक तलब प्रदान गर्ने निर्णय गरेको छ । सेन्ट्रल कन्ट्र्याक्टमा पुरुष तर्फ ३० जना राखेको क्यानले महिला तर्फ १९ जना खेलाडी राखेको छ । जसको ए ग्रेडमा इन्दु बर्मा, रुबिना क्षेत्री र सीता राना मगर परेकी छन् । उनीहरूले मासिक ५० हजार तलब पाउने भएका छन् । यसअघि यस ग्रेडका खेलाडीले २१ हजार तलब पाउँदै आएका थिए ।

यस्तै बी ग्रेडका खेलाडीले १८ हजार तलब पाउँदै आएकामा अव ३५ हजार तलब पाउने छन् । जसमा एक जना कविता कुँवर मात्रै रहेकी छिन ।

त्यसै गरि मासिक १५ हजार पाउँदै गरेका सी ग्रेडका खेलाडीले अव ३० हजार प्राप्त गर्ने छन् । जसमा पुजा महतो र अश्मिना कर्माचार्य रहेकी छन् । सोही अनुरूप डी ग्रेडमा अप्सरी बेगम, कविता जोशी, संगीता राई, काजोल श्रेष्ठ र बिन्दु रावल रावल रहेकी छिन् । उनीहरूले मासिक २५ हजार पाउने छन् । त्यस्तै ईमर्जिङ क्याटोगरीमा सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्सनिका मरासिनी, कन्चन श्रेष्ठ, रुबि पोदार, सृष्टि जैसी, सम्झना कुमारी खड्का, सना प्रवीन छन् । उनीहरूले मासिक २० हजार पारिश्रमिक पाउने छन् ।

यसरी खेलाडीको पारिश्रमिक वृद्धि गर्दा खेलाडी पलायनको क्रमलाई रोक्न ठूलो राहत मिल्ने छ भने अर्को खेलाडीको हौसला बढ्ने छ ।

क्यानमा आएपछि पारसको त्यो बोली !

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी तथा पूर्व कप्तान पारस खड्का हाल नेपाल क्रिकेट संघ क्यानका केन्द्रीय सचिव रहेका छन् । क्यानमा उनको इन्ट्री लगत्तै उनले ए ग्रेडका खेलाडीको तलब १ लाख पुर्याउने बताएका थिए । उनले ग्रेडका खेलाडीको तलब १ लाख पुर्याउने र अन्य ग्रेडका खेलाडीको तलब पनि सोही अनुरूप वृद्धि गर्ने जनाएका थिए तर आज सोही कुरा क्यानको केन्द्रीय कार्यसमितिले पारित सहित घोषणा गरेको छ ।

त्यसै गरी क्यानको १२ र १४ गतेको बैठकले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा खेलाडी ज्ञानेन्द्र मल्ललाई नेपालको ए टोलीको प्रशिक्षकको रूपमा नियुक्त समेत गरेको छ । मल्लले राष्ट्रिय टोलीबाट सन्यास लिँदै बाहिर गएर ए ग्रेडको कोचिङ ट्रेनिङ्ग गरेका गरेका थिए । त्यसपछि उनलाई एपीएफले आफ्नो प्रशिक्षकको रूपमा चयन गरेको थियो । हाल क्यानले खेलाडीको क्षमता विकास गर्ने भन्दै दुई टोली बनाएर अभ्यास गराई रहेको छ । सोही अनुरूप ए टोलीको प्रशिक्षकमा मल्ललाई नियुक्त गरेको हो ।