तिलाकर्णालीको १२ औं स्थापना दिवस, २ लाखबाट १३ करोडको यात्रा

कैलाली । कैलालीको घोडाघोडीमा रहेको तिलाकर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बुधबार आफ्नो १२ औं स्थापना दिवस मनाएको छ । जिल्लाको घोडाघोडी नगरपालिका-२, मा रहेको उक्त सहकारीले स्थापना कालदेखि आज पहिलो पटक आफ्नो स्थापना दिवस मनाएको हो । 

२०६८ फागुन ९ गते २८ जना सदस्य राख्दै स्थापना भएको यस बचत तथा ऋण सहकारीले १२ वर्षको अन्तरालमा निकै उपलब्धि हासिल गरेको संस्थाका व्यवस्थापक लाल बहादुर भण्डारीले जानकारी दिए । स्थापना दिवस कार्यक्रममा प्रस्तुतीकरण दिँदै व्यवस्थापक भण्डारीले संस्थाले स्थापनाकाल देखि हाल सम्म भए गरेका प्रगति, भोग्नु परेका समस्याहरूको बारेमा अवगत गराए । २०६८ माघ १ गते २८ जनाको प्रारम्भिक भेलाले सहकारी सञ्चालन गर्ने निर्णय पश्चात ०६८ फागुन ९ गते आएर आफूहरूले सानो लगानीबाट सुरुवात गरेको बताए ।

सहकारीमा हाल २ हजार २ सय जना शेयर सदस्य तथा ५ हजार ६ सय जना सदस्य रहेका छन् । २ लाख ८२ हजार पुँजीबाट प्रारम्भ गरेको सहकारीमा छोटो समयमा नै १३ करोड ९४ लाख पुँजी सञ्चय गरि सकेको छ । 

जिल्लामै अग्रणी सहकारीका रुपमा उभिन सफल भएको यस संस्थाले २०८० मा आएर सुदूरपश्चिममा रहेका २ हजार ६० सहकारीलाई उछिन्दै उत्कृष्ट अवार्ड समेत हात पारि सकेको छ । कार्यक्रममा व्यवस्थापक भण्डारीले ‘जिम्मेवारीबाट पन्छिने तर आलोचना गर्दा भने अगाडि सरिक हुने प्रवृत्तिले कुनै पनि क्षेत्र अगाडि बढ्न नसक्ने भन्दै’ संस्थाका सबै सदस्यहरूले आफ्नो तवरबाट सहकारीलाई अगाडि बढाउन भूमिका खेल्नु पर्ने बताए । 

यस्तै कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिका सहकारी शाखा प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि हेमाकन्त सुवेदीले सहकारीले बदमासी तथा आर्थिक हिनामिना गरेका घटना बाहिर आइरहेका बेला नजिक र आफूसँग सहकार्य गर्न सकिने सहकारीसँग मर्ज गरेर अगाडि बढ्नु पर्ने बताए ।

सहकारीले मोबाइल बैंकिङ एप समेत सञ्चालनमा ल्याएको छ । उक्त एप हालसम्म ३ सय ५० जना सदस्यहरूले प्रयोग गरि रहेको समेत कार्यक्रममा जनाएको थियो । 

कार्यक्रमको समापनमा बोल्दै संस्थापक अध्यक्ष तथा संयोजक रण बहादुर भण्डराले पछिल्लो समय केही सहकारीहरुले बदमासी तथा आर्थिक हिनामिना गरेका समाचार आइरहेका बेला नआत्तिन शेयर सदस्यहरूलाई अनुरोध गरेका थिए ।

Share