घोडाघोडी नगरपालिका हल्लाको पछाडि नलाग्ने नगर प्रमुख रावतको जिकिर

कार्यक्रममा बोल्दै नगर प्रमुख खडक बहादुर रावत

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतले नगरपालिका हल्लाको पछाडि नरहेको जिकिर गरेका छन् ।

विहीबार नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको ‘पालिका स्तरीय खोप समन्वय समितिको बैठक तथा अभिभुखिकरण गोष्ठी’को समापनमा बोल्दै नगर प्रमुख रावतले पछिल्लो समयमा पालिकाको विषयमा मिडियाबाजी भैरहेका र नकारात्मक कुराहरू बढी आइरहेका भएपनि हल्लाको पछि नलागी कार्यमा निरन्तर लागि रहने बताए । नगर प्रमुख रावतले भने, ‘पछिल्लो समय यो नगरपालिकाले केही गरेन, अन्य पालिकाले कति धेरै काम गरि सक्यो भन्दै मिडियामा नराम्रा कुराहरूको बढी नै प्रचार भैरहेको छ । तर हामीले मिडियामा आए जस्तो केही काम नगरेको हैन थुप्रै काम गरेका छौं । त्यस कारण हल्लाको पछाडि लाग्दैनौ ।’

मिडियाबाजी गर्दै गलत कुप्रचार गर्नेको पछाडि नलागी त्यसलाई सुझावको रुपमा ग्रहण गर्दै अगाडि बढ्ने रावतको भनाई थियो । ‘प्रचारबाजी गरे जस्तो केही काम नगरेको भए हालै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको जिल्ला कार्य सम्पादन मूल्याङ्कनमा कसरी दोस्रो स्थानमा आयो ? ४२.४३ अङ्क प्राप्त गर्दै दोस्रो स्थानमा परेको छ । काम नगरी परेको हैन ।’, नगर प्रमुख रावतले भने ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको जिल्ला कार्य सम्पादन मूल्याङ्कनमा गोदावरी नगरपालिका ४२.७८ अङ्क प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ भने, १९.५१ अङ्क प्राप्त गर्दै लम्की चुहा नगरपालिका जिल्लाकै सबैभन्दा कम अङ्क प्राप्त गर्ने पालिकामा परेको छ ।

Share