कैलाली । बिहीबार देखि त्रिबी क्रिकेट मैदानमा सुरु हुने त्रिकोणात्मक सिरिजका लागि नेपाल क्रिकेट संघ क्यानले नेपाली टोलीको घोषणा गरेको छ । विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा घरेलु टोली नेपाल, नामिबिया र नेदरल्याण्ड्स विच प्रतिस्पर्धा गर्न लागेका छन् ।
विहीबार देखि हुने त्रिकोणात्मक सिरिजका लागि क्यानले बैकल्पिक खेलाडीको रुपमा समावेश गरेका विकेट किपर अनिल कुमार शाह र अन्डर १९ टोलीका कप्तान देव खनाललाई टोलीमा समावेश गर्दै आज टोली घोषणा गरेको हो । टोलीमा वैकल्पिक खेलाडीको रुपमा रहेका शाह र खनालले क्यानडासँगको तीन खेलको श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरेका शाह र खनाललाई टोलीमा राख्दै आज क्यानले टोली घोषणा गरेको हो ।
क्यानडासँगको श्रंखलाको दोस्रो खेल देखि टोलीमा स्थान पाएका शाहले दोस्रो खेलमा १९ बलमा अर्धशतक प्रहार गरेका थिए भने तेस्रो खेलमा १ सय १२ रनको अविजित उत्कृष्ट शतकीय पारी खेलेका थिए । सोही प्रदर्शनका आधारमा शाहलाई टोलीमा समावेश गरेको हो ।
खनालले पनि दोस्रो खेल देखि स्थान पाएका थिए । सोही खेलमा उनले ७६ रनको अर्धशतकीय पारी खेल्दै उनले आफूलाई प्रमाणित गरी दिएपछि उनलाई पनि टोलीमा समावेश गरेको हो । तेस्रो खेलमा भने उनले ब्याटिङ गर्न पाएनन् ।
बिहीबार देखि हुने सिरिजमा नेपालले रोहित कुमार पौडेलको कप्तानीमा बलियो टोली घोषणा गरेको छ । टोलीमा कप्तान पौडेल सहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, अनिल कुमार शाह, पवन सर्राफ, भीम सार्की, देव खनाल, दिपेन्द्र सिंह ऐरी, गुल्शन झा, सोमपाल कामी,करण केसी, ललित राजवंशी र सूर्य तामाङ रहेका छन् ।
नेपालले पहिलो खेल भोलि नामिबियासँग खेल्दै सिरिजको सुरुवात गर्ने छ ।












