शाह र सार्कीको शतकीय पारीसँगै तीन खेलको शृङ्खला क्लिन स्वीप

भिमले सतक प्रहार गरेसँगै सेलिव्रेशन गर्दै, अनिलको साथ/ तस्बिर : साजन लामिछाने/ क्यान

कैलाली । गत विहीबारदेखि त्रिवि क्रिकेट मैदानमा सुरु भएको नेपाल र क्यानडा बिचको तीन खेलको एकदिवसीय शृङ्खला घरेलु टोलीले क्लिन स्वीप गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा ९ विकेटको सानदार जित हात पार्दै घरेलु टोलीले शृङ्खला क्लिन स्वीप गरेको हो । 

शृङ्खलाको पहिलो खेलमा घरेलु टोलीले ७ रनको सनसनीपूर्ण रोमाञ्चक जित हात पारेको पारेको थियो । भने, दोस्रो खेलमा शुक्रबार ४ विकेटले क्यानडालाई पाखा लगाउँदै एक खेल अगावै सिरिज कब्जा गरेको नेपालले तेस्रो तथा अन्तिम खेलमा ९ विकेटको सानदार जित हात पार्दै शृङ्खला क्लिन स्विप गरेको हो ।

आजको खेलमा ओपनर तथा विकेट किपर अनिल कुमार शाह र मध्यक्रमका ब्याट्सम्यान भीम सार्की दुवैले शतकीय पारी खेलेका थिए ।

सोमबार टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको पाहुना टोली क्यानडाले २ सय ३२ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो । 

२ सय ३४ रनको लक्ष्य लिएर मैदान पसेको नेपालले ४४.३ ओभरमा मात्रै १ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा अनिल र भीमको शतकीय इनिङसँगै कीर्तिमानी साझेदारीमा नेपालले सहज जित दर्ता गरेको हो । 

अघिल्लो खेलमा अर्धशतक बनाएका अनिलले १ सय १२ रनको योगदान दिँदा भीमले पनि १ सय १ रनमा अविजित रहे । नेपालका लागि ओडीआईमा दुई खेलाडीले शतक प्रहार गरेको यो पहिलो अवसर हो । अनिलले १ सय २४ बलमा १२ चौका र २ छक्का प्रहार गरे गर्दा भीमले १ सय २९ बलमा ११ चौका र १ छक्का प्रहार गरेका थिए । 

शाह र सार्कीले ओडीआई क्रिकेटमा नेपालका लागि सबैभन्दा ठूलो साझेदारी पनि बनाए । दोस्रो विकेटका लागि यी दुईले १ सय ८९ रनको साझेदारी गरे । यस सन् २०२३ मा कुशल भुर्तेल र आसिफ शेखले जिम्बावेविरुद्ध १ सय ७१ रनको साझेदारी गरेका थिए । 

नेपालबाट ओडीआईमा शतक पूरा गर्ने अनिल सातौँ र भीम आठौं खेलाडी बने । अनिल शतक प्रहार गर्ने दोस्रो विकेटकिपर समेत हुन् । 

पाँचौ ओभरमा ओपनर कुशल भुर्तेल आउट भएपछि अनिलले आफ्नो गतिमा ब्रेक लगाउनु परेको थियो । अनिल र कुशलले पहिलो विकेटका लागि ४५ रन जोडेका थिए । 

त्यसअघि टस हारेपछि पहिलो ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३२ रन जोड्न सक्यो । नवनित धलिवलको अर्धशतकसँगै निखिल दत्त र कप्तान साद बिन जफरले क्यानडालाई सामान्य स्कोरसम्म पुर्याएका थिए । 

धलिवलले ५० रन जोड्दा निखिल दत्त ४५ रनमा रनआउट भए । कप्तान सादले अन्त्यतिर १५ बलमा आक्रामक ३१ रन जोडे । उनले ३ चौका र २ छक्का प्रहार गरेपछि क्यानडाले स्कोरमा सुधार गरेको थियो । 

नेपालका लागि डेब्यु गरिरहेका हेमन्त धामीले ३ विकेट लिए । यस्तै कुशल मल्लले २ तथा ललित राजवंशी र आकाश चन्दले ११ विकेट हात पारे । 

नेपालले आजको खेलमा ४ खेलाडी परिवर्तन गरेको थियो । पछिल्लो खेलबाट सूर्य तामाङ, रिजन ढकाल, सोमपाल कामी र आसिफ शेखलाई बेन्चमा राख्दै आरिफ शेख, ललित नारायण राजवंशी र कुशल भुर्तेल टोलीमा फर्किएका थिए । भने, हेमन्तले डेब्यु गर्ने मौका समेत पाएका थिए ।

Share