कैलाली । क्यानडासँगको तीन खेलको एक दिवसीय क्रिकेट शृङ्खला नेपाली राष्ट्रिय क्रिकेट टोलीले एक खेल अगावै हात पारेको छ । शनिबार किर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न भएको दोस्रो खेलमा नेपालले ४ विकेटको जित हात पारेसँगै सिरिज कब्जा गरेको हो । पहिलो खेलमा विहीबार ७ रनको सनसनीपूर्ण जित निकालेको थियो ।
आजको खेलमा क्यानडाले प्रस्तुत गरेको २ सय ८६ रनको चुनौतिपूर्ण लक्ष्य नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको हो ।
नेपालले ओडीआईमा दोस्रो पटक २ सय ८६ रनको लक्ष्य पछ्याएको हो । यसअघि २०२३ मा नामिबियाविरुद्ध पनि समान लक्ष्य पछ्याएको थियो । आज नेपालको जितमा कप्तान रोहित कुमार पौडेल, यू १९ कप्तान देव खनाल र ओपनर अनिल कुमार शाहले अर्धशतक प्रहार गर्दा टोली जित तर्फ अघि बढेको थियो । तर मध्यक्रममा अन्त्यतिर लगातार विकेट गएपछि नेपाल केही दबाबमा परे पनि लगभग लक्ष्य तिर पुगी सकेकाले सहज जित हात पार्न सफल रह्यो ।
कप्तान पौडेलले १ सय १ बलको सामना गर्दै ८ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ८७ रनको योगदान दिए । यस्तै आजका खेलमा ओपनिङ ब्याट्सम्यानको रुपमा मैदान प्रवेश गरेका शाहले भने आक्रामक सुरुवात गरेका थिए । मात्र २० बलको सामना गरेका उनले ७ चौका र ३ छक्काको मद्दतमा ५० रनको अर्धशतकीय इनिङ खेले ।
उनले ओडीआई क्रिकेटमा नेपालका लागि सबैभन्दा तीव्र अर्धशतक प्रहार गरे । शाहले १९ बलमा अर्धशतक पूरा गरे । उनले आसिफ शेखले पपुवा न्युगिनीविरुद्ध गत वर्ष २१ बलमा अर्धशतक बनाएको कीर्तिमान तोडेका हुन् ।
उनको आक्रामक सुरुवातको मौका उठाउँदै कप्तान पौडेल र देव खनालले तेस्रो विकेटका लागि कीर्तिमानी १ सय ५० रनको साझेदारी गर्दै इनिङ सम्हालेका थिए । यो तेस्रो विकेटका लागि गरिएको हाल सम्म कै ठूलो साझेदारी हो । यसअघि कुशल भुर्तेल र रोहितले नामिबियाविरुद्ध २०२३ मा १ सय ३३ रनको साझेदारी गरेका थिए ।
८१ बलको सामना गरेका खनालले ७ चौका र २ छक्कासहित ७६ रनको योगदान गरे । उनले ५६ बलमा अर्धशतक बनाएका थिए ।
खनाल पेभिलियनको फर्किएपछि क्रिजमा आएका भीम सार्कीले २१ बलमा ४ चौका प्रहार गर्दै पेभिलियनको बाटो फर्किए । त्यसपछि क्रिजमा आएका पवन सर्राफ पनि ८ बलमा २ चौका र १ छक्कासहित १४ रन जोडेर आक्रामक सट खेल्ने क्रममा पेभिलियनको बाटो फर्किए । त्यसपछि सोमपाल कामी र कुशल मल्लले नेपाललाई जितसम्म पुर्याए । दुवै समान ९ रनमा अविजित रहे ।
क्यानडाका लागि ईश्वरजोत सिंह सोही र हर्ष ठाकरले समान २ तथा कप्तान साद बिन जफर र दिलप्रित बज्वाले १/१ विकेट हात पारे । त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८५ रन जोड्यो । उसका लागि ओपनर आरोन जोन्सन र नवनित धलिवालले क्यानडाका लागि राम्रो सुरुवात दिलाउँदै सर्वाधिक योगदान पनि दिएका थिए । जोन्सनले ६५ रन जोड्दा नवनित ओडीआईको पहिलो अर्धशतकबाट ४ रनले चुके । उनी ४६ रनमा आकाश चन्दको बलमा विकेट किपर आशिफ शेखबाट क्याच आउट भए ।
किर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाले राम्रो सुरुवात गरेपनि नेपालले मध्यक्रममा लगातार विकेट लिँदै खेलमा फर्केको थियो । पहिलो विकेटका लागि जोन्सन र नवनितले ९४ रनको साझेदारी गरेका थिए ।
त्यसपछि तेस्रो विकेटका लागि पर्गत सिंह र निकोलस किर्तनले ५३ रनको साझेदारी गर्दै टोलीलाई विशाल योगफल तर्फ अगाडि बढाई रहेका बेला कप्तान रोहितले दुवैलाई आउट गर्दै नेपाललाई खेलमा फर्काएका थिए । पर्गत ३८ बलमा ३८ रन जोड्दै सोमपालको हातबाट समातिए । त्यस्तै किर्तन २० रनमा स्टम्पिङ आउट भए ।
३५ औं ओभरमा सूर्यले हर्ष ठाकरलाई ३ रनमा पेभिलियनको बाटो देखाई दिए । सूर्यको ओडीआई करिअरमा यो पहिलो विकेट समेत हो । उनले विहीबार भएको पहिलो खेलमा डेब्यु गरेका थिए । ३९ औं ओभरमा कुशल मल्लले दिलप्रित बज्वालाई बोल्ड गर्दै क्यानडालाई २१२/६ को स्थितिमा पुर्याए । दिलप्रितले २ चौका र १ छक्कासहित १९ रन जोडे । ४१ औं ओभरमा कप्तान साद बिन जफर कुशलकै बलमा क्याच आउट भए ।
पवन सर्राफले ४५ औं ओभरमा शाहिद अहमदजाइलाई १३ रनमा बोल्ड गरे । नवौँ विकेटका लागि श्रेयस मोभा र उदय भगवानले ४६ रनको साझेदारी गरे । मोभाले अन्तिम बलमा क्याच आउट हुनु अघि ४० रन बनाए । भगवान २० रनमा अविजित रहे ।
नेपालका लागि रोहित पौडेल र कुशल मल्लले २/२ विकेट लिए । सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफले आफ्नो नाममा समान १ विकेट गराए ।
आजको खेलबाट आकाश चन्दले अन्तर्राष्ट्रिय खेलमा राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।
आजको खेलमा पनि कप्तान रोहित कुमार पौडेल प्लेयर अफ दि म्याच घोषित भए । पहिलो खेलमा पनि उनी प्लेयर अफ दि म्याच घोषित भएका थिए ।
आजको जितसँगै नेपालले तीन खेलको शृङ्खला एक खेल अगावै आफ्नो नाममा पारेको छ ।
अब तेस्रो तथा अन्तिम खेल सोमबार हुने भएको छ ।













