फ्राइडे रिलिज: दयाहाङ राईकै दुई चलचित्रहरू ‘हात्तीछाप’ र ‘दयारानी’ आपसमा भिड्दै

काठमाडौं । लामो समयपछि आजबाट फेरि हलमा ठुलो बजेट र आशा गरिएका नेपाली चलचित्रहरू रिलिज भएका छन्। फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबार देखि दुई नेपाली चलचित्रहरू ‘हात्तीछाप’ र ‘दयारानी’ प्रदर्शनमा आएका छन्। दुबै चलचित्रमा नायक दयाहाङ राई भएका कारण बक्स अफिसमा दयाहाङ भर्सेस दयाहाङ हुनेछ।

सिमोस सुनुवारले निर्देशन र किरण नेपालीले निर्माण गरेको ‘हात्तीछाप’ मा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, कमलमणि नेपाल, विजय बराल, पुष्कर गुरुङ, वृद्धि तामाङ, सुष्मा  निरौला, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय छ ।

चलचित्रले मङ्गलबारको प्रिमियरमा कलाकार र पाहुनाबाट राम्रो तारिफ पाएको थियो। चलचित्रमा कलाकार दीपकराज गिरीको विशेष भूमिका छ। चलचित्रले शुक्रबार देशभरीका हलमा उच्च शो पाएकाले बम्पर कमाई गर्ने अनुमान समेत गरिएको थियो। कार्तिकदेखि सुस्ताएको नेपाली चलचित्र बजारलाई ‘हात्तीछाप’ ले तताउने आशा छ।

उता शुक्रबार नै रिलिज हुने अर्को चलचित्र ‘दयारानी’ लाई बाँसुरी फिल्मस् र माओत्से गुरुङ फिल्मसले संयुक्त निर्माण रहेको हो। चलचित्रलाई माओत्से गुरुङले पहिलोपटक निर्देशन गरेका हुन् । शैलेन्द्र ध्वज कार्कीको छायांकन रहेको ‘दयारानी’ मा दयाहाङ राई र दिया पुनको मुख्य भूमिका छ। चलचित्रले नि:सन्तान दम्पतीको कथा भनेको छ।

‘दयारानी’ मा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, क्रिष्टी गुरुङ, राजेन्द्र थापा, टिकाराम घले, सीतादेवी गुरुङ आदिको पनि अभिनय छ । चलचित्रका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । बिहीवार आयोजित प्रिमियरमा चलचित्रले राम्रो प्रतिक्रिया पाएको थियो। 

Share