कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाले विश्व रामसार सूचीमा सूचिकृत सिमसार क्षेत्रमा ‘डम्पिङ साइड’ निर्माण गरेको छ । घाेडाघाेडी नगरपालिकामा रहेकाे विश्व रामसार सूचीमा सूचिकृत घाेडाघाेडी ताल सिमसार क्षेत्रमा ‘डम्पिङ साइड’ बनाइएकाे हाे । फाेहाेरमैला व्यवस्थापन ऐन, २०६८ अनुसार यस्तो ठाउँमा डम्पिङ साइड निर्माण गर्न पाइँदैन । तर नजिकैकाे बस्तिलाई समेत बेवास्ता गरि गएको छ वर्ष देखि नगरपालिकाले फोहोर फाल्नका लागि घाेडाघाेडी ताल परिसरलाई डम्पिङ साइड बनाएकाे छ । नगरपालिकाले फाेहाेरमैला फाल्ने ठाँउ बनाएकाे २ सय मिटरको दूरीमा मानव बस्ति छ ।


संयुत्त राष्ट्रसंघकाे आह्वानमा हरेक वर्ष फेब्रुअरी २ का दिन विश्व सिमसार दिवस मनाउने गरिन्छ । नेपालमा पनि याे दिवस विभिन्न कार्यक्रम गरि मनाउने गरिएकाे छ । शुक्रबार घाेडाघाेडी नगरपालिकाले समेत घाेडाघाेडी ताल परिसरमा समेत यस्तै कार्यक्रम मञ्चन गर्याे ।

केही दिनदेखि नगरपालिकाले बनाएकाे डम्पिङ साइडमा लगाइएको आगोका कारण त्यस वरपरको वातावरण निकै प्रदुषित बनेको छ । फोहोरमा लागेको आगोका कारण फैलिएको धूवाँको मुस्लो बस्ती पसेपछि स्थानीय आजित बनेका छन् । बुधबार र बिहीबार घोडाघोडी नगरपालिकाले दमकल र जेसिबीको सहायताले आगो निभाउने प्रयत्न सफल हुन सकेन । आगो नियन्त्रणमा लिन नसकेपछि नगरपालिकाले उक्त कार्य रोकेको छ ।
दिवसमा कर्मकाण्डी काम
शुक्रबार कैलालीको घोडाघोडी क्षेत्रमा डिभिजन वन कार्यालय पहलमानपुर र बसन्त संरक्षित वन परिषद्को सहयोगमा विश्व सिमसार दिवस मनाइएको थियो । ‘सिमसार, मानव हितको आधार’ यस वर्षको नारा रहेता पनि मासिदै गइरहेको सिमसार र सिमसार क्षेत्रमा भइरहेका अनैतिक मानवीय क्रियाकलापका कारण त्यस वरपरको सिङ्गो समुदायले भोग्नु परेको समस्यालाई नजर अन्दाज गरेको प्रष्टै देख्न सकिन्थ्यो ।

बितेका छ वर्ष देखि सिमसार क्षेत्रमा नगरपालिकाले निरन्तर फोहोर थुपारी रहेको छ । जसका कारण त्यस वरपरका स्थानीय नागरिकले वर्षौ देखि समस्या भोगी रहेका छन् । वर्षको एक दिन घोडाघोडीको सिमसार क्षेत्रमा दिवसको कर्मकाण्डी पुरा गर्न पुगेकाहरूले त बुझ्ने कुरै भएन । नागरिकमा सिमसारको महत्व उजागर गर्दै, यसको संरक्षणका फाइदाहरुबारे बुझाउनु पर्ने स्थानीय सरकार नै सिमसार क्षेत्र मास्नमा तल्लिन भएकाे भान हुदै छ ।
नगरपालिकाले त्यस क्षेत्रमा डम्पिङ साइड मात्र होइन । स्वास्थ्य खोप केन्द्र लगायतका अन्य संरचना समेत निर्माण गरेको छ ।
कसले थुपार्छ त्यस ठाउँमा फोहोर
घोडाघोडी नगरपालिका अन्तर्गत रहेका साडेपानी, सुखड र पहलमानपुर बजार क्षेत्रबाट उत्पन्न हुने फोहोरलाई गएको छ । वर्ष देखि मातृभूमि संरक्षण प्रा.लि.ले यस सिमसार क्षेत्रमा फोहोर थुपार्दै आइरहेको छ । फोहोरमैला व्यवस्थापनका लागि नगरपालिकाले ठाउँको विकल्पका रुपमा आफूहरूलाई यसै क्षेत्र भनेको हुनाले आफूहरूले फोहोर थुपार्ने गरेको मातृभूमि संरक्षण प्रा.लि.का संयोजक गोविन्द रावतले जनाएका छन् । आगो लगाउने गरेको विषयमा भने, उनले आफूहरूले आगो लगाउने कार्य नगरेको बताएका हुन । नगरपालिकाले आफूहरूलाई फोहोर थुपार्नका लागि अन्य क्षेत्र उपलब्ध गराए सिमसार क्षेत्रमा फोहोर नथुपार्न रावत बताउछन् ।


डम्पिङ साइडको विकल्प खोजिँदै
घोडाघोडी नगरपालिकाका प्रवक्ता घनश्याम ओझाले छिट्टै नगरपालिकाले अर्को स्थानमा डम्पिङ साइड निर्माण गर्ने बताएका छन् । घोडाघोडी नगरपालिका ८, को फूलबारी क्षेत्रमा रहेको ३० हेक्टर क्षेत्रफलमा फैलिएको जमिनमा डम्पिङ साइड निर्माणका लागि बहुमत कार्यपालिका सदस्यबाट पारित भइसकेको प्रवक्ता ओझाले जानकारी दिएका छन् । उनका अनुसार सिमसार क्षेत्रमा अघिल्लो कार्यकाल देखि नै जनप्रतिनिधिले फोहोर फाल्नका लागि सजिलो बनाई दिएकाले आजका मिति सम्म पनि त्यसै क्षेत्रमा फोहोर फाल्ने गरिएको हाे ।
वर्षको एक दिन विश्व सिमसार दिवसको अनेकन नारा भजाएर कार्यक्रमका नाममा रकम कुम्ल्याउने, संरक्षणकर्मीका नाममा सम्मान तथा पुरस्कार ग्रहण मात्रै गर्ने प्रवृत्तिको अन्त्य हुनु पर्छ । मासिदै गइरहेको सिमसार क्षेत्रको संरक्षणका लागि सबै तहका सरकार तथा सराेकारवालाकाे ध्यान जान जरूरी देखिन्छ ।













