यु१९ विश्वकपमा अन्तिम खेल खेल्दै नेपाल

तस्बिर : आईसीसी

कैलाली । जनवरी १९ देखि दक्षिण अफ्रिकामा सुरु भएको यु १९ विश्वकप क्रिकेटमा नेपाल आज अन्तिम खेल खेल्दै छ । विश्वकप अन्तर्गत सुपर सिक्सका खेलहरू भैरहेका छन् । नेपालले पनि सुपर सिक्सको खेल खेल्दै विश्वकपको यात्राबाट विश्राम लिने छ । 

सुपर सिक्सको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग ५ विकेटले पराजित भएसँगै औपचारिक रूपबाटै नेपाल अर्को चरणमा पुग्नबाट वञ्चित भैसकेको थियो । किनकी नेपाल अङ्क तालिकामा निकै पछाडि थियो । समूह चरणको अन्तिम खेलमा अफगानिस्तानमाथि १ विकेटको सनसनीपूर्ण जित निकाल्दै तेस्रो स्थानमा रहेर सुपर सिक्समा प्रवेश गरेको थियो । सुपर सिक्समा अगाडिको अङ्क पनि जोडिने हुँदा नेपालले अरुको जित हारमा पनि भर पर्नु पर्ने थियो । तर त्यो हुन सकेन । नेपालले स्वयम् आफैले पनि पहिलो खेल गुमाउँदा विश्वकपको यात्रामा पूर्णविराम लागि सकेको थियो ।

आजको खेलको हार जितले नेपाललाई कुनै नाफा नोक्सान गर्ने छैन् । मात्रै उक्त खेल नेपालका लागि प्रतिष्ठासँग जोडिने छ । तर भारतलाई भने हार बेहोरेको खण्डमा अङ्क तालिकामा घाटा हुनेछ । खेल नेपाली समय अनुसार पौने दुई बजे सुरु हुनेछ । 

आजको खेलमा जित हात पार्दै भारत सेमिफाइनलको यात्रा सुनिश्चित गर्न चाहन्छ भने सेमिफाइनलको दौडबाट बाहिरिएको नेपाललाई भारतसँगको खेल प्रतिष्ठाका लागि मात्र हुनेछ । भारत यस प्रतियोगिताको उपाधि दाबेदार टोली हो त्यस कारण उ निकै नेपालभन्दा बलियो टोली हो । त्यसैले पनि भारत नेपालमाथि सहज जित निकाल्दै सेमिफाइनलको यात्रा तय गर्न चाहन्छ । तर नेपालले पनि भारतलाई पराजित गर्दै नयाँ इतिहास कायम गर्ने दाउमा रहेको छ । हालसम्मको विश्वकपमा नेपालले भारतलाई पराजित गर्न सकेको छैन । 

यदि भारतलाई पराजित गर्ने हो भने नेपालको ब्याटिङ, बलिङ र फिल्डिङ सुधार्न आवश्यक छ । विश्वकपका हालसम्मको खेलमा नेपालको यी तिन पक्ष राम्रो हुन सकेको छैन । ब्याटिङतर्फ नेपालको ओपनिङ जम्न सकेको छैन । नेपालले न्युजिल्याण्डविरुद्ध १, पाकिस्तानविरुद्ध २९, अफगानिस्तानविरुद्ध ११ र बंगलादेशविरुद्व १८ रनमा पहिलो विकेट गुमाएको थियो । सुरुआत राम्रो भएको खण्डमा त्यसपछि आउने ब्याट्सम्यानको आत्मबल बढ्छ र दबाबबाट उठेर ब्याटिङ गर्न सक्छन् । ब्याटिङको तल्लो क्रममा केही राम्रो ब्याटिङ भए पनि मध्यम क्रममा राम्रो हुन सकेको छैन । मध्यम क्रमको ब्याटिङले स्कोरको निर्धारण गर्छ । 

तर, मध्यम क्रममा राम्रो साझेदारी बन्न नसक्दा नेपालको स्कोर धेरै बन्न सकेको छ । बलिङ पनि नेपालले खासै चमत्कार गर्न सकेको छैन । बलिङमा अफगानिस्तानविरुद्ध राम्रो सुरुआत गरेको नेपालले अन्य देशविरुद्ध सहज सुरुआत गर्ने सकेन र पराजित हुन पुगेको हो । भारतविरुद्ध जित निकाल्न नेपाललाई ओपनिङ उत्कृष्ट सुरुआतसँग मध्यम क्रम र तल्लो क्रमको साथ उक्तिकै हुनुपर्नेछ । बलिङमा पनि सुरुआतमै विकेट लिन सके भारतलाई दबाब सिर्जना हुनेछ । नेपाली बलरले विकेट हात पारे पनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसक्दा हार बेहोर्न बाध्य भएको छ ।

कस्तो छ नेपाल र भारतको विगतको नतिजा ? 

यसअघि यु १९ विश्वकपमा नेपाल र भारत दुई पटक भिडेका छन् । जसमा दुवै विश्वकपमा नेपाल भारतसँग पराजित हुन पुगेको थियो । भारतसँग नेपालको पहिलो भेट २००० र दोस्रो २०१६ को यु १९ विश्वकपमा भएको थियो । नेपाल पहिलो भेटमा ७ र दोस्रो भेटमा ८ विकेटले पराजित हुन पुगेको थियो । नेपालले २०१७ मा भएको यु १९ एसिया कपमा भारतलाई १९ रनले पराजित गर्दै चमत्कार गरेको थियो । 

उक्त खेलमा दिपेन्द्रसिंह ऐरीले भारतविरुद्ध २ क्याचसहित ८८ रन र ४ विकेट लिएका थिए । त्यति बेलाका अधिकांश खेलाडी अहिले सिनियर टोलीबाट प्रतिनिधित्व गरिरहेका छन् । केही समय अघि मात्रै भएको यु १९ एसिया कपमा नेपाल भारतसँग १० विकेटको फराकिलो हार बेहोर्न बाध्य भएको थियो । त्यस बेला भारतविरुद्ध नेपाल ५२ रनमा समेटिएको थियो । 

भारतले यो विश्वकपमा शानदार प्रदर्शन गरि रहेको छ । हालसम्म सबैभन्दा धेरै रन र विकेट लिने खेलाडीको सूचीको शीर्ष स्थानमा भारतीय खेलाडीको दबदबा छ । भारतले समूह चरणमा बङ्गलादेशलाई ८४, आयरल्यान्ड र अमेरिकालाई समान २ सय १ रनले पराजित गरेको थियो । समूह चरणमा न्युजिल्याण्डसँग ६४ रन, पाकिस्तानसँग ५ विकेटले पराजित भएको नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित गरेको थियो । नेपाललाई ६४ रनले पराजित गरेको न्युजिल्याण्डलाई भारतले सुपर सिक्समा २ सय १४ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

Share