कैलाली । त्रिभुवन विश्वविद्यालय नेपालकै ‘प्रतिष्ठित विश्वविद्यालय’ हो । नेपालमा मात्रै नभई विश्वमै त्रिविकाे पहिचान छ । ‘टाइम्स हायर एजुकेशन’ले गर्ने सर्वेक्षणमा त्रिवि सन् २०१९ देखि सन् २०२३ सम्म लगातार उत्कृष्ठ एक हजारको सुचिमा रह्याे ।
शिक्षा, मानविकी र सामाजिक विज्ञान, कानुन र व्यवस्थापन सङ्कायहरू साथै विज्ञान र प्रविधि, इन्जिनियरिङ, चिकित्सा, वन, कृषि र पशु विज्ञान संस्थानहरूमा गरि करिब ४ लाख विद्यार्थी अध्ययन गरि रहेका छन् ।
२०१६ सालमा स्थापना भएको यस विश्वविद्यालयका हाल ६२ ओटा आङ्गिक क्याम्पस रहेका छन् । एक हजारभन्दा बढी क्याम्पस/कलेजले सम्बन्धन प्राप्त गरेका छन् ।
पछिल्लो समय त्रिविमा समस्याका चाङ छन् । एक पछि अर्को रुपमा खस्किदै गएको उक्त विश्व विद्यालय २०२४ मा ‘टाइम्स हायर एजुकेशन’ले गरेको सर्वेक्षणमा समेत खस्किन पुग्यो । लगातार पाँच वर्षसम्म आठ सय देखि एक हजारको बिचमा रहेको विश्वविद्यालय यस पटकको सर्वेक्षणमा उत्कृष्ठ १५ सयको सूचीमा समावेश छ ।
एकपछि अर्को गर्दै खस्किँदो अवस्थामा रहेको त्रिवि पछिल्लो समय आफूलाई सुधार्न प्रयत्नशील रहे पनि त्यो सफल हुन सकेको छैन् । चर्को राजनीतिकरणले विश्वविद्यालयहरुलाई डामाडोल पारि रहेको अवस्थामा त्रिवि पनि त्यसबाट अछुतो रहन सकेन । परिणाम स्वरुप हाल त्रिविको केन्द्रीय कार्यालयमा प्रमुख राजनीतिक दलका भातृ सङ्गठनले विभिन्न माग राख्दै ताला लगाउने बढ्दो प्रवृत्ति कायमै छ ।
विगत केही वर्ष यता झनै त्रिवि लथालिङ्ग अवस्थामा रहेको छ । आफ्ना शैक्षिक कार्यक्रमलाई समेत समय तालिका अनुरूप गराउन सकी रहेको छैन् । कोरोना महामारीदेखि अस्तव्यस्त बनेको त्रिवि अझै लयमा फर्केको छैन् । समयमा नै परीक्षा सञ्चालन गर्न नसक्नु, नतिजा प्रकाशन समयमै नहुनु, प्रकाशन नतिजामा पनि व्यापक त्रुटि देखिनुले पनि त्रिवि खस्किदै गएको भान हुन्छ ।
गत वर्ष मात्रै स्नातक तह पहिलो वर्षको परीक्षा फागुन १ गते देखि तय गर्यो तर अन्तिम समयमा आएर विभिन्न समस्या देखाउदै बिचमा मिति तोक्दै स्थगित गर्दै अन्तिममा यस वर्षको बैशाख ४ गते परीक्षा सञ्चालन गर्यो । जसको नतिजा १० महिना बित्न लाग्दा समेत पनि प्रकाशन भएको छैन् । यस पटक केही सुधारात्मक रुपमा अगाडि बढ्ने भन्दै २०७९ मा स्नातक तह पहिलो वर्षमा भर्ना भएका विद्यार्थीको वार्षिक परीक्षा गत असोजमा सम्पन्न गर्यो । सबैले केही सुधारात्मक कार्य गरेको त्रिविले भन्दै प्रशंसा समेत गरे। तर, उसले २०७७ मा भर्ना भै परीक्षा दिएका र नतिजा समेत प्रकाशन भैसकेको स्नातक तह प्रथम वर्षको आंशिक परीक्षा हाल सम्म पनि सञ्चालन गर्न सकेकाे छैन् ।
हाल २०७८ मा भर्ना भएका विद्यार्थीको दोस्रो वर्षको परीक्षा आवेदन खुला गरे पनि आंशिक परीक्षा दिने विद्यार्थीको लागि कुनै निर्णय गरेको छैन् ।
नयाँ योजनामा समेत त्रिविलाई पहिलो गाँसमै ढुङ्गो !
अस्तव्यस्त बनेको शैक्षिक प्रणालीलाई लयमा फर्काउनका लागि नै त्रिविले स्नातक तह पहिलो वर्षको परीक्षा गत असोजमा सम्पन्न गर्याे । जुन सराहनीय कार्य हाे । यही माघ ३ गते त्रिभुवन विश्वविद्यालयले शैक्षिक गतिविधिलाई लयमा ल्याउन आफ्नो वार्षिक शैक्षिक क्यालेण्डर समेत सार्वजनिक गर्यो । जसले आगामी दिनमा शैक्षिक गतिविधिलाई लयमा फर्काउने त्रिविको लक्ष्य रहेको छ ।
यस्तै सँधै राजनीतिक हुने गरेको उपकुलपतिको नियुक्तिमा यस पटक खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने भन्दै दुई पटकका विज्ञापन रद्द गर्दै तेस्रो पटक विज्ञापन गरेको छ । जसमा दुई महिला र ४० पुरूष गरि कुल ४२ जनाले दरखास्त दिएका छन् ।
त्रिविको कुलपति भने प्रधानमन्त्री रहने व्यवस्था अनुरूप हाल प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ त्रिविको कुलपति रहेका छन् । अस्थिर राजनीति र सरकारका कारणले पनि त्रिविलाई धराशायी बनाइरहेकाे छ । सरकार परिवर्तन हुँदा पुनः राजनीतिक नियुक्ति हुने गरेको थियो तर अब उपकुलपति खुला प्रतिस्पर्धाबाट नियुक्ति हुने भएपछि धेरै सुधारात्मक सङ्केत देखिनेमा आशावादी हुन सकिन्छ ।
यसरी एकपछि अर्को सुधारको कार्य अगाडि बढाउने तयारीमा रहेको त्रिविले एक अर्को सुधारात्मक कार्यको शुभारम्भ यही माघ १५ गते गर्यो । विद्यार्थीले आफ्ना शैक्षिक उपलब्धिका प्रमाण पत्र झिक्न काठमाडौं अर्थात त्रिविको केन्द्रीय कार्यालय नै जानु पर्ने बाध्यकारी नियमको अन्त्य भयाे । विद्यार्थीले सबै कागजात सहजै प्राप्त गर्न सक्ने भन्दै अनलाइन प्रणालीको सुरुवात गर्यो तर त्रिविको त्यस कार्यमा भने पहिलो गाँसमा नै ढुङ्गा लाग्यो ।
१५ गते धुमधामका साथ अनलाइन प्रणालीबाट सबै काम हुने भन्दै शुभारम्भ गर्यो तर त्यसको केही समय नबित्दै उक्त वेब साइट ह्याक भयो । अर्थात शुभारम्भ गरेकै भोलिपल्ट नै त्रिविको वेब साइट त्रिविको नियन्त्रण भन्दा बाहिर गयो । जसको सामाजिक सञ्जालमा खुबै चर्चा भयो । सामाजिक सञ्जाल रङ्गिए ।
सामाजिक सञ्जालमा ह्याक हुुनु कुनै नाैलाे कुरा नभएको तथा न्यु मिडियाले आफ्नो वर्चस्व कायम गरेका वेला ह्याक हुनु सामान्य रहेकाे जस्ता प्रतिकृया सामाजिक सञ्जालमा पाइयाे । तर कतिपयले ह्याक हुनु सामान्य कुरा नभएकाले त्रिवि पदाधिकारि गैर जिम्मेवार भएकाे ठहर्याए ।
वेबसाइट ह्याकको विषयमा उपकुलपतिको गैर जिम्मेवारपूर्ण जवाफ
त्रिभुवन विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत सेवा दिने भनेकै भोलिपल्ट परीक्षा तथा नतिजा सम्बन्धी वेब साइट ह्याक भयो । उक्त वेब साइट रोहित रोकायाको फेसबुक अकाउन्टमा ‘रिडाइरेक्ट’ भएको प्रहरी अनुसन्धानले देखाएको थियो । यसरी ह्याक भएपछि अनेकले हरेक सवाल जवाफ गरि रहेका बेला त्रिविका उपकुलपति प्रा.डा. शिवलाल भुसालले भने उक्त कुरा सामान्य घटना रहेकाे बताएका छन् ।
उक्त घटनाबारे उपकुलपति प्रा. डा. भुसालले देशसञ्चारसँग, ‘ह्याक हुनु सामान्य कुरा हो । सेना, पेन्टागनका साइट त ह्याक हुन्छन् ।’ भन्दै आफ्नो अभिव्यक्ति दिए । साथै भुसालले यसबारे आफूलाई बढी थाहा नहुने र परीक्षा नियन्त्रण कार्यालयतिरै यसको जवाफ खोज्नु पर्ने बताएका थिए ।
को हुन् त्रिविको साइट ह्याकर ?
वेबसाइट ह्याक गर्नेहरू १५ वर्ष उमेरका ३ जना किशोरहरू रहेका थिए । उनीहरु तीनै जना काठमाडौंको एक माध्यमिक विद्यालयमा विज्ञान सङ्काय पढ्दै छन् । उनीहरु सूचना प्रविधि र कम्प्युटरका ज्ञाता भने होइनन् । इन्टरनेट र सूचना प्रविधिमा चाख राख्ने ति तीन जना विद्यार्थीहरूले त्रिविको परीक्षा नियन्त्रण कार्यालयको वेब साइटमा प्रवेश गरेको तर यसको सूचना र तथ्याङ्कहरूमा कुनै परिवर्तन र दुरुपयोग नगरेको बरु थप सुरक्षित बनाएको दाबी गरेका छन् ।
सिधाकुरा डटकासँग ति किशोरहरूले त्रिविले अनलाइन सेवा सुरु गरेपछि वेब साइट चेक गर्दा वेब साइटमा महत्वपूर्ण तथ्याङ्क चोरी हुने बग (कमजोरी) देखिएको र त्यसबाट हुने सम्भावित क्षति रोकेर त्रिविलाई जानकारी गराउन वेब साइट नियन्त्रणमा लिइएको दाबी गरेका छन् । उनीहरूले त्रिवि आफै पनि गैर जिम्मेवार भएको बताएका छन् ।
ह्याकरहरूले विद्यार्थीको परीक्षाफल नै परिवर्तन गर्न सकिनेसम्मको कमजोरी उक्त वेब साइटमा भेटिएको भन्दै, ‘वेब साइटमा विद्यार्थीको परीक्षाफल नै परिवर्तन गर्न सकिनेसम्मको तथ्याङ्क चोरी हुने गम्भिर समस्या हामीले पहिल्यायौँ । हामीले त्रिविका सबै सार्वजनिक नम्बरमा फोन ग¥यौँ । तर, उठेन वेब साइट बनाउने को हो पनि सम्पर्क प्रयास ग¥यौँ तर उनीहरूको पनि सम्पर्क भेटेनौँ ’ भन्ने बयान दिएका छन् ।
त्रिविले गरेको गम्भिर गल्तिको फाइदा अरु कसैले लिइरहेको हुन सक्ने भन्दै ति किशोरहरूले आफूहरूले गल्ती सच्याउनका लागि यो कदम चालेको दाबी समेत गरेका छन् । ‘यो ह्याक होइन । यो हामीले गल्ती पहिल्याएको हो । हामीले कुनै तथ्याङ्क चलाएका छैनौँ । त्रिविले आफ्नो वेब साइट तुरुन्त नियन्त्रणमा लिएर सुरक्षित बनाउन हामीलाई सम्पर्क गरोस् । हामीलाई त पुरस्कृत गरोस् ।’
घोडाघोडी बहुमुखी क्याम्पसमा अध्यापनरत प्रा. डा. दीपकराज जोशीले त्रिविकाे ‘सिस्टम’ को कमजोरी र हचुवाको भरमा यो कार्य अगाडि बढाउँदाको परिणाम भएको बताएका छन् । यस्ताे गम्भिर विषयमा त्रिवि गैर जिम्मेवार भएकाे भन्दै उनले हचुवाकाे भरमा चर्चा कमाउन सम्भावित जाेखिमकाे अध्ययन नै नगरि गरिएकाे कार्यकाे प्रतिफल यस्ताे हुने बताएका छन् । साथै उनले त्रिवि उपकुलपतिले गैर जिम्मेवारपूर्ण अभिव्यक्ति दिनु हास्यास्पद रहेकाे समेत बताएका छन् । संवेदनशील विषयमा पनि त्रिवि पदाधिकारीले अभिव्यत्ति जिम्मेवार तवरले दिदैनन् ।
भिसीको प्रतिस्पर्धीमा रहेका एकजनाले राष्ट्रिय टेलिभिजनमा ‘म भिसी भयो भने समयमा परीक्षा गराउँछु । समयमा रिजल्ट प्रकाशन गर्छु । समयमा सबै शैक्षिक क्यालेण्डरहरु फलो गर्छु’ जस्ता आस्वासन दिए । जब कि युनिभर्सिटीले गर्नु पर्ने भनेको त अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हो । राम्रा युनिभर्सिटीसँग प्रतिस्पर्धा, नयाँ नयाँ टेक्नोलोजीको रिसर्चमा ‘कोल्याबरेसन’ गरि नयाँ रेकर्डरहरू राख्नु पर्ने हो तर हामी यो लेभलमा छौँ । भन्दै डा. जाेशीले त्रिविकाे दयनीय अवस्थालाई उजागर गरेकाे बताएका छन् ।
त्रिविकाे उपकुलपतिका लागि विभिन्न दिग्गजकाे चर्चा चलिरहेका बेला वेब साइट ह्याक हुने र संवेदनशित तथ्याङ्क चाेरी हुने खतराबाट मुक्त पार्न त्रिवि पदाधिकारी जिम्मेवार हुन जरूरी छ । अन्यथा त्रिविलाई साख जाेगाउन कठिन हुने देखिन्छ । यस्ता विषयमा जिम्मेवार भइ त्रिवि सुधारकाे हरसम्भव प्रयत्न गर्ने उपकुलपति छनाैट गर्न सके नेपालकाे शैक्षिक धराेहरकाे रूपमा परिचित त्रिविलाई अझै उचाइमा पुर्याउन सकिन्छ ।













