राष्ट्रियसभामा माओवादीको वर्चस्व, पहिलो दलको हैसियत प्राप्त गर्दा एमाले तेस्रोमा खुम्चियो

कैलाली । आँउदो फागुनदेखि राष्ट्रिय सभाका २० जना सांसदको पदावधि सकिँदैछ । पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन गर्नु पर्ने कानूनी व्यवस्थाअनुसार बिहीबार १९ जनाको लागि निर्वाचन सम्पन्न भैसकेको छ । एक जनालाई विषयविज्ञका रुपमा राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था अनुसार २० मध्ये १९ सीटका लागि विहीबार निर्वाचन भएको हो ।

२०७५ असार ४ गते गोला प्रथाद्धारा चार वर्षे पदावधि कायम भएका सदस्यको पदावधि सकिन लागेको हो । स्थायी सदन भएकाले राष्ट्रिय सभाका एकतिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने गर्दछ । 

यस पटक चार वर्षे पदावधि समाप्त हुनेमा नेकपा एमालेका ८, माओवादी केन्द्रका ४, एकीकृत समाजवादीका चार, नेपाली कांग्रेसका तीन जना रहेका छन् । साथै राष्ट्रपतिबाट विषयविज्ञका रुपमा मनोनयन भएका माओवादीका रामनारायण बिडारीको पनि पदावधि समाप्त भएको छ । 

पदावधि सकिनेमा ७ महिला, ३ दलित समुदाय, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यकबाट २ र अन्य समुदायका ७ जना रहेका छन् ।

  विहीबार सम्पन्न निर्वाचनको मत परिणाम सार्वजनिक भएसँगै आउँदो फागुन २० गतेपछि राष्ट्रिय सभामा दलीय हैसियत फेरिने भएको छ । अहिले पहिलो दल रहेको नेकपा एमाले उक्त समयपछि तेस्रो दलको हैसियतमा खुम्चिने भएको छ ।

२०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनमा ३२ सीट सहित तेस्रो स्थान प्राप्त गर्दै सत्ताको बागडोर सम्हालि रहेको नेकपा माओवादी केन्द्र भने अब फागुन २० पछि राष्ट्रिय सभामा पहिलो दलको हैसियतमा आउन लागेको हो ।

अहिलेको अवस्थामा दोस्रो स्थानमा रहेको माओवादी पहिलो स्थानमा उक्लिँदा कांग्रेस दोस्रो स्थानमा आएको छ । माधव नेपाल नेतृत्वको नेकपा एस भने ८ सांसदसहित चौथो स्थानमा रहेको छ ।

विहीबारको निर्वाचनको नतिजासँगै कांग्रेसले १०, माओवादीले ५, नेकपा एसले २ र एमाले र जसपाले एक/एक सीट हात पारेका छन् । कोशीमा एमाले र राप्रपाले गठबन्धन गर्दा एक सीट जित्न सफल भएको छ । गठबन्धनबाट फ्लोर क्रस भएपछि एमालेकी रुक्मिणी कोइरालाले अनपेक्षित जित हात पारेकी हुन् । उनले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई पराजित गरिन् ।

कांग्रेसबाट कृष्णप्रसाद सिटौला, आनन्द ढुङ्गाना, जितजंग बस्नेत, विष्णुकुमारी पुडासैनी, किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार, विष्णुकुमारी सापकोटा, कृष्णबहादुर रोकाया, बलदेव बोहरा र नारायणदत्त भट्ट राष्ट्रिय सभामा चुनिएर आएका छन् । 

यस्तै माओवादीबाट श्रीकृष्ण अधिकारी, मनरूपा शर्मा, झक्कु सुवेदी, विष्णु विश्वकर्मा र रेणु चन्द निर्वाचित हुँदा नेकपा एकीकृत समाजवादीबाट घनश्याम रिजाल विश्वकर्मा र सावित्री मल्ल, जसपाबाट पूजा चौधरी निर्वाचित भएर राष्ट्रिय सभामा आएका हुन् ।

अहिले राष्ट्रिय सभामा १८ सांसद रहेको एमालेका ९ सांसद बिदा हुँदा १ सीटमात्रै सुरक्षित गर्न सफल भयो । कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाको एक र एक स्वतन्त्र सांसदको पदावधि सकिन लागेको हो । यस्तै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने एक सीटमा जनमोर्चाकी दुर्गा पौडेललाई ल्याउने सहमति गठबन्धनमा भइसकेको छ ।

राष्ट्रिय सभामा फागुन २० पछि

राष्ट्रिय सभामा अहिले माओवादीका १६ सांसद छन् । तीन सांसद बिदा हुँदा ५ सांसद निर्वाचित भएर आएपछि १८ सीट बनाएर माओवादी पहिलो दल बनेको हो । १० सांसद रहेको कांग्रेसको चार बिदा हुँदा १० थपिएर १६ जना पुगेको छ । सोही आधारमा अव उ दोस्रो दल बनेको छ ।

यस्तै नेकपा एससँग अहिले आठ सांसद छन् । उसका दुई जना बिदा भए पनि गठबन्धनको बलमा दुई जना जित्न सफल रहे ।

यस्तै जसपाका तीन सांसद छन् । एक रिक्त हुने स्थितिमा उसले एक जना यथावत राख्न सक्यो । अहिले राष्ट्रियसभामा जनमोर्चाको एक सांसद छन् । राष्ट्रपतिबाट मनोनीत भएर आउँदा २ जना पुग्नेछन् ।

एमालेका पूर्व नेता वामदेव गौतम राष्ट्रिय सभामा अहिले स्वतन्त्रको हैसियतमा छन् । उनलाई तत्कालीन केपी ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गरेका थिए । स्वतन्त्र रहेका गौतमले एमालेलाई साथ दिए सांसद संख्या ११ पुग्नेछ । सोही उनले साथ दिए पनि नदिए पनि एमाले तेस्रो दलको हैसियतमा रहने छ । 

Share