कैलाली । विहीबार सम्पन्न राष्ट्रिय सभा सदस्यको निर्वाचनको मत परिणाम पनि सार्वजनिक भैसकेको छ । सातै प्रदेशको मतपरिणामलाई हेर्दा सत्ता साझेदार गठबन्धनका उम्मेदवारले नै आफ्नो पक्षमा जित हात पारेका छन् । जम्मा १९ जनाका लागि भएको निर्वाचनमा सत्ता साझेदार गठबन्धनका १८ जना विजयी हुन पुगे । एक जना मात्रै सत्ता साझेदार गठबन्धनको विपक्षी उम्मेदवार विजयी भए । यसरी हेर्दा गठबन्धनले ९५ प्रतिशत जित आफ्नो पक्षमा पार्यो ।
गठबन्धन पूर्णरुपमा हावी हुँदा सदनमा प्रतिपक्षको भूमिका निर्वाह गरि रहेको एमाले भने अस्तित्व रक्षाको सकसमा पुग्यो । अन्ततः एमालेको साख जोगाउन पुगिन कोशी प्रदेशकी उम्मेदवार रुक्मिणी कोइराला ।
कोशीमा सत्ता गठबन्धनबाट माओवादीकी चम्पा कार्कीलाई पाखा लगाउँदै एमालेकी रुक्मिणीले जित हात पारेकी हुन् । तर कोशीमै गठबन्धनकै उम्मेदवार नेपाली कांग्रेसका कृष्ण प्रसाद सिटौलाले भने राप्रपाका उद्धव पौडेललाई पराजित गर्दै जित हात पारे । सिटौला पौडेलभन्दा ७ सय ३० धेरै मतभारले विजयी भएका हुन् । तर गठबन्धनकै उम्मेदवारले भोट नदिँदा माओवादीकी चम्पालाई एमालेकी उम्मेदवार कोइरालाले पराजित गरेकी हुन । कोशीमा सत्ता गठबन्धनकै मतदाताले एमाले र राप्रपालाई मत दिएको पुष्टि समेत भएको जनाएको छ ।
यस्तै मधेस प्रदेशको दुई सिटमा गठबन्धनका उम्मेदवार कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित भएका छन् ।
बाग्मतीमा पनि सत्ता गठबन्धन नै हाबी भएको छ । यहाँ सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका चारै जना उम्मेदवार विजयी भएका छन् । महिलातर्फ कांग्रेसकी विष्णुदेवी पुडासैनी, अन्यतर्फ कांग्रेसकै जितजङ्ग बस्नेत, अपाङ्गतातर्फ माओवादीका कृष्णप्रसाद अधिकारी र दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल विजयी भएका हुन् ।
त्यसै गरि गण्डकी प्रदेशमा पनि गठबन्धनका उम्मेदवार नै विजयी भएका छन् । अन्य क्लस्टरमा नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ, महिला क्लस्टरमा नेकपा माओवादीबाट मनरुपा शर्मा र अपाङ्गता क्लस्टरमा नेपाली कांग्रेसका पदम परियार निर्वाचित हुँदा यता लुम्बिनी प्रदेशबाट पनि सत्ता गठबन्धनका दुवै उम्मेदवार विजयी भएका छन् । महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा र माओवादीका झक्कुप्रसाद सुवेदी विजयी हुन सफल रहे ।
यस्तै कर्णालीमा पनि गठबन्धनकै उम्मेदवारले वर्चस्व जमाए । त्यहाँ पनि गठबन्धनका तीनै जना उम्मेदवार विजयी भए । कर्णालीमा अन्यतर्फ कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल र दलिततर्फ माओवादी केन्द्रका विष्णुबहादुर बिक निर्वाचित भएका छन् ।
सुदूरपश्चिममा पनि गठबन्धनकै तीन जना उम्मेदवार विजयी भए । महिलातर्फ माओवादीकी रेनु चन्द, अपाङ्गतातर्फ कांग्रेसका नारायणदत्त भट्ट र अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी हुनुभएको हो ।
सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा बिहान ९ बजे शुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो । सातै प्रदेशमा प्रदेश सभाका ५ सय ४९ जना प्रदेश सभा सदस्य रहेकामा ५ सय ४६ जनाले मत हालेका हालेका । यस्तै पालिकाका प्रमुख र उपप्रमुख गरी १४ सय ९७ जना मतदाता रहेकामा १४ सय ८६ जनाले मत हालेका निर्वाचन आयोगले जनाएको छ ।
तर चर्चामा रहेका तीन जना स्वतन्त्र मेयरहरूले भने मतदान गरेनन् । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह, धनगढी उपमहानगरका गोपाल हमाल र धरानका मेयर हर्क साम्पाङ राई मतदानमा सहभागी भएनन् ।
आउँदो फागुन २० गते १९ जना राष्ट्रिय सभा सदस्यको पद रिक्त हुने भएपछि आज चुनाव भएको हो । आज निर्वाचित सदस्यहरूको कार्यकाल ६ वर्षको रहनेछ ।













