विश्वकपमा सुखद् सुरुवात गर्ने दाउमा नेपाल

तस्बिर : क्यान

कैलाली । दक्षिण अफ्रिकामा जारी आईसीसी यू १९ एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको १५ औँ संस्करणको तेस्रो दिनमा आइतबार नेपालले बलियो प्रतिद्वन्द्वी न्युजिल्यान्डको सामना गर्दैछ । खेल नेपाली समयअनुसार, दिउँसो १ः४५ बजे दक्षिण अफ्रिकाको बफेलो पार्क क्रिकेट मैदानमा सुरु हुनेछ । 

यस प्रतियोगिताको समूह ‘डी’ मा परेको नेपाल यू १९ विश्वकपमा आठौँ पटक सहभागिता जनाइरहेको छ । उक्त समूहमा नेपाल र न्युजिल्यान्डका अतिरिक्त पाकिस्तान र अफगानिस्तान पनि रहेका छन् । जारी प्रतियोगितामा नेपालले आज पहिलो खेल खेल्न लागेको हो । प्रतियोगिताको भने आज तेस्रो दिन हो । 

सन् २००० मा श्रीलङ्कामा सम्पन्न तेस्रो संस्करणदेखि यू १९ विश्वकपमा नेपालका लागि न्युजिल्यान्ड पुरानो प्रतिद्वन्द्वी टोली हो । यू १९ विश्वकपमा यसअघि नेपालले न्युजिल्यान्डलाई दुई पटक पराजित गरिसकेको छ । आज जित निकाल्दै विश्वकपमा न्युजिल्याण्डलाई पराजित गर्दै ह्याट्रिक गर्ने दाउमा नेपाल रहेको छ । 

सन् २००६ को यू १९ विश्वकप श्रीलङ्कामा आयोजना भएको थियो । त्यो नेपालका लागि ऐतिहासिक थियो । त्यही विश्वकपमा पहिलो पटक नेपालले प्लेट च्याम्पियनसिपको उपाधि समेत चुमेको थियो । 

यू १९ विश्वकपमा नेपालले हासिल गरेको यो हालसम्मकै सबैभन्दा ठूलो उपलब्धि समेत हो । प्लेट च्याम्पियनसिपको फाइनलमा नेपालले बलियो टेस्ट राष्ट्र न्युजिल्यान्डलाई एक विकेटले पराजित गर्दै उपाधि चुमेको थियो । त्यसअघि सेमिफाइनलमा नेपालले दक्षिण अफ्रिकालाई दुई रनले पाखा लगाएको थियो । 

त्यो विश्वकपमा नेपाली टोलीको नेतृत्व कनिष्क चौलागाइँले गरेका थिए । त्यतिखेर टोलीमा हाल राष्ट्रिय क्रिकेट टोलीबाट सन्यास लिई सकेका पूर्व कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल समेत रहेका थिए । यस्तै अहिलेका राष्ट्रिय टोलीका शरद भेषवाकर, वसन्त रेग्मी हाल उनीहरू राष्ट्रिय टोलीबाट केही बाहिर रहे पनि सन्यास भने लिइसकेका छैनन् । यस्तै महेश क्षेत्री, यशवन्त सुवेदी, प्रेम चौधरी, शशि केशरी, रतन रौनियार, राज श्रेष्ठ, अमृत भट्टराई लगायतका खेलाडी थिए ।

न्युजिल्यान्डको टोलीमा भने हल्का चर्चित मार्टिन गप्टिल, मार्क एलिसन, टिम साउथी, कोलिन मुनरो, हामिस बेनेट लगायतका खेलाडी थिए । 

यसैगरी सन् २०१६ को यू १९ विश्वकप बङ्गलादेशमा आयोजना भएको थियो । त्यो विश्वकपमा नेपालले समूहगत चरणमा तीनमध्ये दुई खेलमा जित हासिल गरेको थियो । त्यो विश्वकपमा पनि समूह ‘डी’ मा परेको नेपालले आफ्नो पहिलो खेलमा बलियो न्युजिल्यान्डलाई ३२ रनले पाखा लगाएको थियो । अर्को खेलमा आयरल्याण्डलाई आठ विकेटले पराजित गरेको थियो ।

त्यो समूहबाट भारत पहिलो र नेपाल दोस्रो हुँदै अघिल्लो चरणमा पुगेका थिए । न्युजिल्यान्ड र आयरल्यान्ड भने समूहगत चरणबाटै बाहिरिएका थिए । उक्त विश्वकपमा नेपाल टोलीको नेतृत्व राजु रिजालले गरी रहेका थिए । हाल रिजाल लामो समय भइसक्दा समेत राष्ट्रिय टोलीमा आफ्नो स्थान सुरक्षित गर्न सकेका छैनन् । उक्त बेला आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेललगायतका खेलाडीले पनि त्यो विश्वकप खेलेका थिए । हाल यी सबै खेलाडी राष्ट्रिय टोलीका खम्बाका रूपमा आफूलाई स्थापित गर्दै अगाडि बढी रहेका छन् ।

दोहोरिएको आठ वर्षपछि नेपाल र न्युजिल्याण्डबीचको संयोग 

सन् २०१६ को संस्करणपछि नेपालले पहिलो पटक यू १९ विश्वकप खेल्न लागेको हो । आठ वर्ष पछि सहभागिता जनाएको नेपाल फेरि न्युजिल्याण्ड परेकै समूहमा पर्यो । त्यो पनि समूह डी मै २०१६ मा पनि यी दुवै टोली समूह डी मै रहेका थिए । संयोग नै जुर्यो उही समूह उही टोलीसँग उही यू १९ विश्वकप। उक्त विश्वकपमा नेपालले पराजित गर्दा यस पटक न्युजिल्याण्ड जित हात पार्ने दाउमा रहेको छ तर नेपाल पनि त्यति सजिलै जित अरूको हातमा सुम्पिने दाउमा रहेको छैन । उल्टै ह्याट्रिक गर्ने दाउमा रहेको छ नेपाल ।

यू १९ विश्वकपमा नेपाल र न्युजिल्यान्डबिच अर्को रमाइलो संयोग पनि जोडिएको छ । नेपालले यू १९ विश्वकपको इतिहासमा पहिलो पटक टेस्ट राष्ट्रलाई हराएको पनि न्युजिल्यान्डकै भूमिमा हो । सन् २००२ को यू १९ विश्वकप न्युजिल्यान्डमा आयोजना भएको थियो ।

विश्वकपको त्यो संस्करणमा नेपालले दोस्रो पटक सहभागिता जनाएको थियो । यो विश्वकपमा पनि नेपाल विनोद दासकै कप्तानीमा सहभागी भएको थियो । त्यही विश्वकपमा नेपालले पहिलो पटक टेस्ट राष्ट्र पाकिस्तानलाई हराएको थियो । नेपालले समूहगत चरणको खेलमा पाकिस्तानलाई ३० रनले पराजित गरेको थियो ।

त्यो विश्वकपमा नेपाली टोली प्लेट च्याम्पियनसिपको उपविजेता पनि बनेको थियो । प्लेट च्याम्पियनसिपको फाइनलमा भने नेपाललाई जिम्बाबेले एक सय ३७ रनले पाखा लगाएको थियो । त्यसअघि नेपालले प्लेट च्याम्पियनसिपको सेमिफाइनलमा बङ्गलादेशलाई २३ रनले पराजित गरेको थियो । यसका अतिरिक्त यू १९ विश्वकपमा नेपालले अन्य टेस्ट राष्ट्रलाई पनि हराइसकेको छ ।

नेपाल क्रिकेट संघ ९क्यान० ले यस पटक यू १९ विश्वकपका लागि देव खनालको कप्तानीमा टोलीको घोषणा गरेको हो । घोषित नेपाली टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सन झा, दीपेशप्रसाद कँडेल, विशालबिक्रम केसी, सुवास भण्डारी र दीपक बोहरा रहेका छन् । उत्तम रंगु थापामगर, बिपिन रावल, तिलकराज भण्डारी, दीपक बोहरा र आकाश चन्द पनि टोलीमा रहेका छन् । 

 विश्वकपमा नेपालको आश गुल्सन झा

यस विश्वकपमा नेपाल आफैमा सक्षम टोली हो । तर पनि नेपालको आश गुल्सन झा माथि नै रहेको छ । किनकि झा राष्ट्रिय टोलीमा पनि राम्रो लयमा रहेर अलराउन्डर प्रदर्शन गरी रहेका खेलाडी हुन । त्यति मात्रै नभई उनी राष्ट्रिय टोलीका लागि पनि एक निकै भरपर्दा खेलाडी हुन । उनी राष्ट्रिय टोलीमा पनि पहिलो रोजाइमा पर्छन् । कयौं पटक नेपाली टोली धराशायी बनेको अवस्थाबाट नेपाललाई जित तर्फ अग्रसर गराउन उनको ठूलो भूमिका रहेको छ । त्यति मात्रै हैन उनीले विश्वकप लिग दुईको अन्तिम खेलमा युएई बीचको खेलमा पनि अर्धशतकीय पारी खेल्दै नेपाललाई ग्लोबल छनोट सम्म पुर्याउन पनि निकै भूमिका रहेको थियो । एसीसी प्रिमियर कप मा पनि उनको प्रदर्शन यस्तै नै थियो । त्यसकारण उनी टोलीको पहिलो रोजाइमा पर्छन् ।

उनी नेपालका एक मात्रै खेलाडी हुन जो एकै पटक राष्ट्रिय टोली र यू १९ टोलीबाट विश्वकप खेली रहेका छन् । यसपछि आयोजना हुने टी २० विश्वकपमा उनी राष्ट्रिय टोलीबाट टी २० विश्वकप समेत खेल्नेछन् ।

राष्ट्रिय टोलीमा निकै लयमा रहेका कारण यू १९ विश्वकप मा टोली उनको निकै भरमा रहेको छ । वार्म अपमा स्कटल्याण्ड विरुद्ध उनले एक सय १४ रनको शतकीय पारी खेल्दै आफ्नो क्षमता देखाई सकेका छन् यस्तै । वार्म अपकै अर्को खेलमा नामिबिया विरुद्ध उनले ३ विकेट हात पारेका थिए । त्यसकारण उनको आश पुरै नेपाली टोलीलाई रहेको छ । 

उनले राष्ट्रिय टोलीबाट एसिया कपमा पाकिस्तान र भारत जस्ता विश्वका बलिया टोलीसँग समेत खेली सकेका छन् । त्यसकारण आज पनि उनी आत्म विश्वासका साथ मैदान प्रवेश गर्ने छन् ।

Share