कैलाली । कैलालीको घोडाघोडी नगरपालिका वडा नं ६, लाई राजमार्गमा जोड्ने शुक्तिकाँडा नदिमा पुल निर्माणको कामलाई अलपत्र छाडेर ठेकेदार सम्पर्क विहीन भएका छन् । वडा नं ६ र २ को सिमानामा पर्ने शुक्तिकाँडा नदिमा पुल निर्माण थालनी भएको थियो । घोडाघोडी नगरपालिका ६, लाई राजमार्गसँग जोड्ने खोलामा पुल निर्माणको अधुरो काम छोडेर ठेकेदार सम्पर्क विहीन भएको घोडाघोडी नगरपालिका ६, का वडा अध्यक्ष धन बहादुर चौधरीले जानकारी दिएका छन् ।

आर्थिक वर्ष २०७८/७९ मा शुक्तिकाडा नदिमा पुल निर्माणका लागि २ करोड ७० लाखको लागतमा २ बर्ष भित्र योजना निर्माण कार्य सम्पन्न गर्नु पर्ने सर्त सहित घोडाघोडी नगरपालिकाले रेखा निर्माण सेवासँग योजना निर्माणको सम्झौता गरेको थियो । तर सम्झौता समय अवधि सकिँदा पनि निर्माण सम्पन्न भएको छैन ।
अध्यक्ष धन बहादुर चौधरीले लामो समयदेखि पुल निर्माण कार्यलाई पूर्णता दिनका लागि फोन गर्दा पनि ठेकेदार कम्पनीले फोन नउठाउने गरेको बताए । उनले पुलको निर्माण पुरा गर्न मेयर तथा नगर सभामा पनि कुरा गरेको बताएका छन् । अव नगरपालिकाबाट ठेकेदार कम्पनीलाई चिठ्ठी काट्न लगाउने बताएका छन् ।

पुल निर्माणको कार्य अपुरो हुँदा वडा वासीलाई झन समस्या भएको तथा त्यो पुल भएर ओहोर दोहोरो गर्दा दुर्घटनाको समेत जोखिम बढेको अध्यक्ष चौधरीले बताएका छन । एक पटक पुल अधुरो भएकै कारण गोरु गाडा समेत पल्टेको थियाे ।
पुल निर्माण कार्य पुरा नहुँदा वडा वासीलाई दुर्घटनाको जोखिम बढेको स्थानीय रति कामी बताउछन् । उनले पुल निर्माण भयो भन्ने खुशी भन्दा पनि पुल निर्माण पुरा नभएका कारण दुर्घटना बढ्ने र मानिसहरुको ज्यान जाने हो कि भन्ने डर रहेको बताए ।













