कैलाली । १५ औं संस्करणको आईसीसी १९ वर्ष मुनिको (यू १९) एकदिवसीय विश्वकप क्रिकेट आजबाट सुरु हुँदै छ। दक्षिण अफ्रिकामा हुन लागेको यो विश्वकपमा नेपालसहित विश्वका उत्कृष्ट १६ युवा टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन्।
विश्वकपको पहिलो दिन आज दुई खेल हुने समय तालिका आईसीसीले सार्वजनिक गरेको छ । आजको खेलमा अमेरिकाले आयरल्याण्डको सामना गर्दा उता घरेलु टोली साउथ अफ्रिका वेस्ट इन्डिजसँग भिड्दै विश्वकपको उद्घाटन गर्नेछन् । चारै टोली नतिजा आफ्नो पक्षमा पार्दै सुखद सुरुवात गर्ने दाउमा रहेका छन् ।
सन् १९८८ मा सुरु भएको यू १९ विश्वकप क्रिकेटमा नेपालको यो आठौँ सहभागिता हो। सन् १९९६ पछि मात्र अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेको नेपाली क्रिकेटको युवा टोलीले सन् २००० मा पहिलो पटक विश्वकप खेलेको थियो।
त्यसयता सन् २००२, सन् २००४, सन् २००६, सन् २००८ र सन् २०१२ को विश्वकपमा छनोट भएको नेपाल अर्को पटक विश्वकपमा पुग्न सन् २०१६ लाई पर्खनु परेको थियो। हाल नेपाली राष्ट्रिय क्रिकेट टोलीका अधिकांश खेलाडीले खेलेको उक्त विश्वकपमा नेपालले आठौँ स्थान हात पारेको थियो। यो नेपालको युवा विश्वकपमा उत्कृष्ट प्रदर्शन थियो।
त्यसयता नेपालको युवा टोलीले विश्वकप खेल्न पाएको थिएन। सन् २०१६ पछि पहिलो पटक यू १९ विश्वकप खेल्न लागेको नेपालले आफ्नो समूहमा अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल समूह ‘डी’ मा रहेको छ ।
नेपालले माघ ७ गते न्युजिल्यान्डको सामना गर्दै विश्वकपको सुरुवात गर्ने छ । यस्तै, माघ १० गते पाकिस्तान र माघ १२ गते अफगानिस्तानसँग प्रतिस्पर्धा गर्ने समय तालिका रहेको छ। यो विश्वकपमा १६ टोलीको सहभागिता रहेको छ । चार समूहमा विभाजित गरेर खेल खेलाइन् लागेको हो ।













